राजर्षी जनक कपः मच्छिन्द्रसँग पराजित हुँदै सुदुरपश्चिम उपाधि होडबाट बाहिरियो

राजर्षी जनक कपः मच्छिन्द्रसँग पराजित हुँदै सुदुरपश्चिम उपाधि होडबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

जारी छैठौँ राजर्षी जनक कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र विजयी भएको छ। 

सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रसँग सुदूरपश्चिम–११, ३–१ गोल अन्तरले पराजित भएको हो । जितसँगै मच्छिन्द्रले आफूलाई बलियो उपाधि दावेदारका रुपमा प्रस्तुत गरेको छ। मच्छिन्द्र फुटवल क्लवका सामु सुदुरपश्चित–११, का खेलाडी केही निरीह देखिए । 

खेलको सुरुवात देखि नै आक्रामक अवस्थामा देखिएको मच्छिन्द्रका लागि दोस्रो हाफको दोस्रो मिनेटमा विशाल राईले गोल गर्दै खाता खोले । राईले बिमल घर्तीको पासमा डिबक्सभित्रबाट उत्कृष्ट गोल गरे । त्यसपछि सुदूरपश्चिम थप दवाबमा देखियो । दोस्रो हाफपछि पनि सुदूरपश्चिमको लगातार खेलमा फर्कने प्रयास असफल भयो। 

खेलको ६३ औँ मिनेटमा सुदूरपश्चिमका दिपेङ्क राजसिङ ठकुरीले गोल गर्दै टिमलाई खेलमा फर्काए। उनले २० यार्ड टाडाबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो। 

त्यसपछि खेल १–१ को बराबरीमा पुग्यो। लगातार मच्छिन्द्र आक्रामक अवस्थामा प्रस्तुत भइरह्यो। भने, सुदूरपश्चिम लगातार दवावमा रह्यो । खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रको डिबक्सभित्र सुदूरपश्चिमले राम्रो अवसर सृजना गरेको थियो । तर सदुपयोग हुन सकेन।

खेलको ७३ औँ मिनेटमा सुदूरपश्चिमका लागि बनेको अवसर फागुराम थारुले खेर फाले। खेलको ७८ औँ मिनेटमा बिमलको गोलबाट फेरि मच्छिन्द्रले २–१ को अग्रता कायम गर्यो । 

सुजल श्रेष्ठको क्रस पासमा बिमल घर्ती मगरले डिबक्सभित्रबाट हेड गर्दै मच्छिन्द्रको लागि दोस्रो गोल गरे । त्यसपछि खेलमा लय गुमाएको सुदुरपश्चिम–११, धनगढीले ८३ औँ मिनेटमा तेस्रो गोल ब्यहोर्यो । 

मच्छिन्द्रका लागि तेस्रो गोल बिदेशी खेलाडी अनरवेसको पासमा नोरोजोभले डिबक्सभित्र भएको ग्याद्रिङको फाईदा उठाउँदै गरे । 

यता सुदूरपश्चिम आफूले पाएको लगातारको अवसरमा गोल गर्न चुकेपछि हार ब्यहोर्दै उपाधि होडबाट बाहिरियो । खेलको छैठौं मिनेटमा सुदूरपश्चिमका बिदेशी खेलाडी बिक्रमसिंह गोल गर्नबाट चुके । मच्छिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठसँग वान भर्सेज वानको अवस्थामा पनि गोल गर्न सकेनन् । उनले गरेको प्रहार पहिलो बारमा लागेर दोस्रो बारतर्फ फर्कियो । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका देबेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । जितसँगै मच्छिन्द्रले उपाधिका लागि चैत १३ गते हुने फाईनल खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको पिप्ले युवा क्लव हेटौंडासँग भेट पक्का गरेको छ । फाईनल भेटका लागि पिप्लेले क्वाटरफाईनलमा हिमालयन शेर्पा र सेमिफाईनलमा आयोजक बागमती युवा क्लवलाई पारजित गर्दै फाईनल यात्रा तय गरेको हो। 

यस्तै मच्छिन्द्रले क्वाटरफाईलन विदेशी पाहुना टोली एभिनियर फुटवल क्लव क्यामरुनलाई पाखा लगाएर भेट पक्का गरेको थियो । प्रतियोगिताको विजेताले राजर्षि रनिङ शिल्ड १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिकाभित्रका एक खेलाडीलाई बागमती राईजिङ अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।

Skip This
Skip This
Logo