नेपाली घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशी रहेको टि–ट्वान्टी प्रतियोगिता एभरेस्ट प्रिमियर लिग आउँदो नोभेम्बर १२ बाट सुरु हुने भएको छ।
पाँचौं संस्करणको इपिएल, कार्तिक २६ देखि मंसिर १० (नोभेम्बर १२ देखि २६) सम्म आयोजना हुने भएको छ। सन् २०१६ देखि संचालन भएको यो टि ट्वान्टी लिग नेपालकै ठूलो क्रिकेट प्रतियोगिता रहेको छ भने अहिलेसम्म यसका ४ संस्करण भइसकेका छन्। प्रतियोगिता सञ्चालन गर्दै आइरहेको ईपीएल प्राइभेट लिमिटेडले आधिकारिक फेसबुक पेजबाट जानकारी दिँदै नयाँ संस्करण अझ ठूलो र आकर्षक हुने दाबी गरेको छ। यस संस्करणबाट कुनै पनि नेपाली घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार पहिलो पटक विदेशमा बेचिनेछ।
आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिँदै, ईपीएलले विश्वका ८० भन्दा बढी देशमा नेपाली घरेलु क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने बताएको छ। नेपालसहित करिब १३ देशका खेलाडीले सहभागिता जनाउने यस संस्करण आउँदो टि–ट्वान्टी विश्वकपको नजिकै रहेको छ।
यसअघिको एभरेस्ट प्रिमियर लिग संस्करणमा, विश्व क्रिकेट जगतमा ख्याती कमाएका केही प्रसिद्ध नामहरूले सहभागिता जनाएका थिए। जसमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धाम्मिका प्रसाद, उपुल थरंगा, दक्षिण अफ्रिकामा रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शाहजाद, रहमान उल्लाह गुरबाज, जिम्बावेका सिकन्दर राजा, रयान बर्ल र बंगलादेशका तमिम इकबाल जस्ता खेलाडीले खेलेका थिए।





























प्रतिक्रिया