नेसन्स कप फुटबलमा आज राति पोर्चुगल र स्विटजरल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ । सोही समूहको अर्को खेलमा चेक रिपब्लिक र स्पेनबीच खेल हुनेछ ।
आजको खेल नेपाली समय अनुसार राति साढे १२ बजे पोर्चुगलको घरेलु मैदान स्टाडियो जोसे अल्भालाडे स्टेडियममा हुनेछ । लिग ए को समुह दुईको आफ्नो पहिलो खेलमा चेक रिपब्लिकले स्विटजरल्यान्डलाई हराएको थियो भने स्पेन र पोर्चुगलले बराबरी खेलेका थिए ।
पोर्चुगल र स्विटजरल्यान्डबीच आजसम्म २३ पटक भेट भएको छ । त्यसमध्ये स्विटजरल्यान्डले १० खेल जितेको छ भने आठ खेलमा हार भोगेको छ । ५ खेल भने बराबरीमा टुंगिएको थियो । पछिल्ला ५ खेलमध्ये ३ मा पोर्चुगल र २ मा स्विटजरल्यान्ड विजयी भएका थिए ।
फिफा वरीयतामा आठौं स्थानमा रहेको पोर्चुगल सन् २०१६ को युरो कप विजेता हो ।
५० हजार घरेलु दर्शकअघि पोर्चुगललाई पराजित गर्न भ्रमणकारी टोली स्विटजरल्यान्डलाई सहज भने छैन । खेलअघि भएको पत्रकार सम्मेलनमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस भन्छन् “विगत १० वर्षमा स्विटजरल्यान्डले धेरै खेल खेलेका छन् । उनीहरु सधैं प्रमुख प्रतियोगिताहरूमा हुन्छन् र कहिलेकाहीँ नकआउट चरणमा पनि पुग्छन् । उनीहरूसँग निकै गुणस्तरीय खेलाडीहरू छन् । हाम्रो लागि स्विटजरल्यान्ड एक औसत प्रतिद्वन्दी होइनन् ।”
प्रतिक्रिया