काठमाडौं ।
विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो । पुलिसले उदयपुरलाई अधिकांश दबाबमा राखेको थियो ।
एकतर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २/२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए ।
तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुआती अग्रता लिउको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहार गरेको बल उदरपुरकी गोलकिपरको हातमा लागेर गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिइन् ।
सुरुआतबाट नै दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई निश्चित गरिन । जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगितामा शनिबारलाई तय भएका दुई खेल स्थगित भएका छन् ।





























प्रतिक्रिया