सीताले युट्युब हेरेर सिकेको व्यवसाय : भन्छिन्, ‘जानेको सीपलाई कहिल्यै पछाडि पार्नु हुँदैन’

सीताले युट्युब हेरेर सिकेको व्यवसाय : भन्छिन्, ‘जानेको सीपलाई कहिल्यै पछाडि पार्नु हुँदैन’

केन्द्रबिन्दु
0
Shares

उहिले उहिलेको समयमा त बुढाबुढीले मात्र पैसा राख्नका लागि थैली प्रयोग गर्थे । तर अहिले साडी लगाउँदा बुढाबुढी, युवती, केटाकेटी सबैले साडीको छेउमा थैली बाँधेर हिँड्छन्। झन् बिहेको सिजनमा त सबैको रोजाइमा पर्ने थैलीको व्यापार हुने नै भयो । गाउँघरमा बनेका पुराना डिजाइनका थैली त प्रायः सबैले छोडिसके।

कोही कोही बुढाबुढीले मात्र प्रयोग गर्छन् । तर शहर बजारमा बनेका थरीथरीका थैलीहरुको महत्व छुट्टै हुन्छ । शहरमा गाउँबाट आएर थैली बनाउन जानेकाहरुले त व्यवसाय नै गरिरहेका हुुन्छन् । यसरी नै करिब ५ वर्षदेखि चाबहिलको गणेशस्थानमा सीता वर्देवा आफ्नै हातले बनाएको थैली बेच्दै आएकी छिन् ।

काभ्रे घर भएकी सीता १७ वर्ष पहिले काठमाडौँ आएकी हुन्। काठमाडौँ आएर  सुरुमा श्रीमानले चलाउँदै गरेको पसल सम्हाल्न थालिन्। उनका २ जना छोराछोरी छन् । छोरा १२ कक्षा सकेर बसेका छन् भने छोरी पनि पढ्दै उनलाई व्यापार गर्न सघाउँछिन् । उनका श्रीमान् अझै पनि पसलनै सम्हालिरहेका छन् भने उनी चाहिँ आफूले बनाएका थरीथरीका थैली बेचिरहेकी छिन् । काठमाडौँ आउँदा उनलाई केही समस्या भएन । उनी भन्छिन्, “हामी काभ्रेबाट विवाह गरेर काठमाडौँ आएका हौँ । श्रीमान् व्यापार गर्नुहुन्थ्यो। त्यहीँ भएर मैले धेरै दुःख गर्नु परेन। पहिला त काम नै गर्दिन थिएँ । जब बच्चा ठूला हुँदै गए अनि मैले थैली बनाएर बेच्न सुरु गरें।”

“म बाट एकपटक थैली भए पनि फूल भएपनि एकपटक लगेपछि फेरि पनि मलाई फोन गरेर खोज्दै आउँछन्। नआएकाहरु पनि नम्बर मागेर फूलको पहिले नै अर्डर लिन्छन्। यो बेला चाहिँ धेरै नै खुशी लाग्छ। झन् विवाहको सिजनमा त थैलीको व्यापार बढी हुन्छ।”

उनी थैलीको साथमा आफूले घरमा सजाउनको लागि बनाएको फूल पनि बेच्छिन् । तर फूलभन्दा थैलीकै व्यापार बढी हुन्छ । उनले बनाएका सुन्दर रंगीचङ्गी फूल चाहिँ मेला लागेको बेलामा बढी विक्री हुने हुनाले फुर्सदको बेलामा बनाउँछिन् र जहाँ मेला लाग्छ त्यहीँ लगेर बेच्छिन् । भन्छिन्, “म धेरैजसो थैली मात्र बेच्छु । यो फूल त भ्याउँदा मात्र बनाउँछु अनि मेला लागेको बेलामा लगेर बेच्छु । थैली बनाउन त पहिला गाउँमा हुँदै आउँथ्यो । फूल बनाउन चाहिँ युट्युब हेरेर सिकेको हो ।”

उनले युट्युबबाट फूल बनाउन सिकेर आफ्नै घरमा सजाउन थालिन् । अनि अलिक धेरै बनाउँदै गएपछि थैलीको साथमा आफूले बनाएको फूल पनि बेच्ने विचार गरिन् । उनी भन्छिन्, ‘सबैभन्दा पहिले त आफ्नै घर सजाउनको लागि मात्र प्रयोग गर्थें । सुरुमा त धेरै बनाउन आएन अनि घर सजाउन मात्र प्रयोग गरें । सिक्दै बनाउँदै गएपछि बजारमा लगेर बेच्ने सोच आयो । थैलीसँगसँगै यो पनि किन नबेच्ने भन्ने लाग्यो, त्यसैले अलि अलि ल्याउँछु। तर धेरै चाहिँ मेला लागेको बेला लान्छु ।”

उनी फूल बनाउनका लागि बोतल कवाडीबाट र प्लाष्टिक हस्पिटलमा खेर गएका एक्सरे संकलन गरेर ल्याउँछिन् । उनी फूल बनाउन चाहिने धागो पनि महँगो भएको बताउँछिन् । भन्छिन्, “अरु सामान पनि महँगो छ । तर धागो भने असाध्यै महँगो छ । एउटा फूल बनाउन करिब ४०० रुपैयाँ लगानी हुन्छ । बनाउन सके त फाइदा पनि बढी नै हुन्छ । तर म फूल त कहिले काहीँ मात्र बनाउँछु थैली मात्र निजी हो ।”

त्यस्तै, उनी खुशी हुँदा हुँदै एकछिन् भावुक भएर पहिलाको जस्तो व्यापार नभएको गुनासो पोख्छिन्। भन्छिन्, “थैलीको व्यापार हुँदा त फाइदा धेरै बस्थ्यो । पहिलाको जस्तो अहिले त धेरै हुँदैन । कहिलेकाहिँ धेरै पनि हुन्छ कहिले थोरैमा पनि चित्त बुझाउनुपर्ने हुन्छ ।”

सीताले बनाएको थैली होस् या फूल एकपटक लगिसकेपछि ग्राहक पुनः खाेज्दै आउँछन् । झन् फूल त सबैले मन पराउने नै भए । उनी भन्छिन्, “म बाट एकपटक थैली भए पनि फूल भएपनि एकपटक लगेपछि फेरि पनि मलाई फोन गरेर खोज्दै आउँछन्। नआएकाहरु पनि नम्बर मागेर फूलको पहिले नै अर्डर लिन्छन्। यो बेला चाहिँ धेरै नै खुशी लाग्छ। झन् विवाहको सिजनमा त थैलीको व्यापार बढी हुन्छ।”

उनी सबैलाई घर परिवारले जति कमाए पनि हरेक महिलाले आफूले जानेको सीपलाई नलजाई गर्न सुझाव दिन्छिन्। भन्छिन्, “काम नजानेको भन्ने कोही हुँदैन, सबैले एउटा न एउटा काम जानेकै हुन्छन्। त्यसैले त्यो आफूले जानेको सीपलाई कहिल्यै पछाडि पार्नु हुँदैन। त्यही सीपबाट हामीले आम्दानी गर्न मात्र हैन, आफूले जानेको सीप भविष्यसम्म काम लाग्छ। आफूले जानेको सीप जहाँ गएर पनि देखाउन सकिन्छ।” 

Logo