वित्तीय संस्थाहरूले नपत्याएपछि फेसबुकबाट ऋण खोज्दै महावीर पुन

वित्तीय संस्थाहरूले नपत्याएपछि फेसबुकबाट ऋण खोज्दै महावीर पुन


काठमाडौं । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सामुदायिक पर्यटनको विकासको लागि सामाजिक सञ्जालमार्फत ऋण सहयोगको अपिल गरेका छन् । उनले आफ्नो फेसबुकमार्फत ग्रामीण समुदायको विकास र अर्को राष्ट्रिय आविष्कार केन्द्रको ‘म्यानुफ्याक्चरिङ’का लागि नरम हृदय भएका विश्वभरका नेपालीहरूसँग तीन करोड रुपैयाँ चाहिएको भन्दै अपिल गरेका हुन् ।

पुनले फेसबुकमा लेख्दै भनेका छन्, ‘विश्वासको भरमा ४ प्रतिशत वार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने कोही नेपालीहरू अथवा समूहहरू हुनुहुन्छ, अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देशतिर बस्ने ? यो ऋण मैले दुईवटा महत्वपूर्ण कामको लागि खोजेको हो । करिब ३ करोड चाहिएको छ । एउटाले नै सबै रकम ऋण दिनुपर्छ भनेको होइन । ५, १०, २० लाख, जति सकिन्छ त्यति दिए हुन्छ ।’

यसका साथै पुनले ग्रामीण पर्यटन, प्रवर्द्धन र संवर्द्धनको लागि म्याग्दीको उत्तरी भेग पाउदार गाउँ (तातोपानी जाने ठाउँ)मा तीनवटा लजहरू निर्माण गरिरहेको तर आफूलाई कुनै पनि बैंक तथा वित्तीय संस्थाले नपत्याएकाले आम नेपालीसँग अपिल गरेको केन्द्रविन्दुलाई बताए ।

पुनले भने, ‘नेपालले २० लाख पर्यटक भित्र्याउने कुरा घोषणा गरेर भ्रमण वर्ष २०२० को कार्यक्रमहरू बनाएको छ । तर, मैले पटक पटक संघीय सरकार, प्रदेश सरकारसँग ग्रामीण विकासको लागि सहयोग माग्दा कुनै सुनुवाइ नै भएन । सरकार, मन्त्रालय, नेपाल पर्यटन बोर्डले सुनेनन् । अब मसँग पैसा छैन । ऋण माग्दा बैंक तथा वित्तीय संस्थाहरूले पत्याउँदैनन् ।’

पुनले सरकारले युवाहरूको सिर्जनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना नै नरहेको आरोप लगाए । उनले भने, ‘सरकारले युवाहरूको सृजनालाई हेरेकै छैन र हेर्न पनि चाहँदैन । किन उनीहरूमा भ्रष्टाचार प्रवृति ज्यादा र सामाजिक विकासका काम कम गर्ने बानी परिसकेको छ । युवाहरूको सीप सदुपयोग होइन दुरुपयोग भइरहेको छ प्रत्येक दिन । तर संघीय, प्रदेश र स्थानीय सरकारहरूले प्राथमिकता दिदैनन्, टेर्दैनन् ।

यस्तै पुनले १० वर्षदेखि चलिरहेको ‘इको टुरिजमको लागि एक वर्षको लागि एक करोड रुपैयाँ चाहिएको बताए । उनले भने, पहिलो काम नेपालमा नै नभएको पूर्ण रूपमा दुर्गम ग्रामीण समुदायलाई मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा ‘कम्युनिटी ओन्ड इको ट्युरिजम’ विकासको लागि हो । यो काम आंशिक रूपमा बिगत १० वर्षदेखि चलिरहेको छ तर यसलाई हामी बढाउन चाहन्छौँ । यसका लागि नेपाल सरकार र बैंकहरूसँग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु । यसको विस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला, यसको लागि एक करोड रुपैंयाँ चाहिएको छ ।

यस्तै दोस्रो काम राष्ट्रिय आविष्कार केन्द्रको लागि सानो स्केलको सामानहरू बनाउने कारखाना ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ आवश्यक भएको बताएका छन् । उनले आविष्कार केन्द्रमा सफलतापूर्वक अनुसन्धान भएका वस्तुहरूलाई ‘सानो स्केल’मा उत्पादन गरी बजारमा बेच्न र बजार परीक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको बताएका छन् ।

Logo