के छ पठाओ, टुटल र सररबीच फरक ? कुन छ त उत्कृष्ट ?

के छ पठाओ, टुटल र सररबीच फरक ? कुन छ त उत्कृष्ट ?


  • प्रसुन संग्रौला

बानेश्वरकी सुमनालाई वागबजार जानुपर्छ सधैँ, आफ्नो साधन छैन । गाडी चढ्न चोकसम्म पुग्नुपर्छ, त्यो पनि सिट कहिल्यै पाइँदैन । अनि ट्याक्सीको विकल्प खोज्न लागिन्, कतिपय जानै मान्दैनन् अनि कतिपय जान माने पनि मनलाग्दी भाडा भन्छन्, मिटरमा जान मान्दैनन् । उनी हैरान । विगत लामो समयदेखि यस्तै हैरानी खेप्दै आएकी उनले भर्खरै टुटल र पठाओ एप डाउनलोड गरेकी छिन् । कहिले टुटल त कहिले पठाओ प्रयोग गर्छिन्, राइडर भनेकै ठाउँमा आइपुग्छन्, सहजै गन्तव्यमा पुर्‍याइदिन्छन् । उनी प्रायः बानेश्वरबाट वागबजारसम्म पुग्दा ६०–६५ रुपैयाँ तिर्छिन् । उनको समय त वचत भएको छ नै, सार्वजनिक सवारी साधनमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हटेको छ । उनी ट्याक्सी नै चढ्नुपरे पनि यिनै एपको सहायताले राइडर बोलाउँछिन् । यसरी वैकल्पिक सवारी खोजेर यात्रा गर्ने हिजोआज थुप्रै छन् ।

त्यसैले त अहिले नेपालमा पठाओ, टुटल र सररजस्ता राइड सेयरिङ कम्पनीहरूले राम्रो चर्चा कमाइरहेका छन् । जनस्तरमा भिजेका र प्रयोगकर्ताहरूले मन पराइरहेका यस्ता सेवाहरू विवादित नभएका होइनन्, तर यिनीहरू दिनानुदिन लोकप्रिय बन्दै छन् । यिनका उपभोक्ताहरू बढ्दै छन् ।

समयको वचत, सुलभ मूल्य अनि सहजताका कारणले अहिले नेपालमा टुटल र पठाओ कम्पनीहरू लोकप्रिय हुँदै अघि बढिरहेका छन् भने भर्खरै सरर पनि आक्रामक ढंगले बजारमा उत्रिएको छ ।

यसरी व्यापक हिसाबमा सञ्चालनमा आइरहेका यी तीन राइड सेयरिङ कम्पनीबीच आफ्ना एप डाउनलोड गराउन वा ग्राहक विस्तार गर्न ठूलो प्रतिस्पर्धा भइरहेको छ । कुन कम्पनी सबैभन्दा राम्रो र गतिलो छ भन्ने प्रश्नको उत्तर भने अहिलेसम्म शायद भेटिएको छैन ।
गुगल प्ले स्टोरका अनुसार बंगलादेशी कम्पनी पठाओको कुल इन्स्टल ५०,००,००० (बंगलादेशसहित) छ जसमा अनइन्स्टल गनिँदैन र यसको रेटिङ ४ छ ।

सन् २०१८ देखि काठमाडौँमा सुरु भएको पठाओ राइडर एपको डाउनलोड ४० हजारभन्दा धेरै छ र यसको प्रयोगकर्ता नेपालमा मात्रै ६ लाख पुगिसकेको पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत बताउँछन् । आफ्ना प्रयोगकर्ताहरूलाई खुसी पार्न पठाओले बेला बेला डिस्काउन्ट पनि दिने गरेको छ, अहिलेसम्म ७५ रुपैयासम्मको छुट दिएको कुरा बस्नेतले बताए । पठाओले बाइक चालकहरूबाट हरेक सवारीमा २० प्रतिशत शुल्क लिने गरेको छ भने ट्याक्सी चालकबाट १५ प्रतिशत लिने गरेको छ ।

एक रिपोर्टअनुसार पठाओमा ३५ हजार एक्टिभ राइडर आबद्ध छन् । उक्त रिपोर्टअनुुसार हरेक दिन करिब १५ हजारजनाले पठाओ प्रयोग गर्छन् र हरेक दिन ८० जना नयाँँ चालकहरू यसमा आबद्ध हुन्छन् ।

यस्ता राइड सेयरिङ एपको कमाइ ठ्याक्कै यति हुन्छ भन्ने हुदैन, तर पठाओवाट प्रतिदिन कसले सबैभन्दा धेरै कमायोे भन्ने कुरा फेसबुक ग्रुप ‘पठाओ युजर्स/राइडर्स अफ नेपाल’ मार्फत हेर्न सकिन्छ । यसमा उक्त दिन शीर्ष कमाइ गर्ने ५ जनाको सूची देखाउँछ र यो हरक्षण अपडेट भइरहन्छ ।

हामीले हेर्दा मंसिर १६ मा पठाओ ट्याक्सी चालक नरेन्द्र घर्तीले १४ राइड गरेर ३ हजार ९ सय ५२ रुपैयाँ कमाएका थिए भने त्यसै दिन पठाओ बाइक राइडर प्रकाश राईले ३१ राइड गरेर २ हजार ९ सय ४० कमाएका थिए ।

पठाओको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने टुटल सन् २०१७ सालदेखि सञ्चालनमा आएको हो । टुटलसँग एक लाखभन्दा धेरै इन्स्टल छ र यसको रेटिङ ३.७ छ । टुटलका सञ्चालक शिक्षित भट्टका अनुसार हाल टुटलमा २५,००० भन्दा धेरै राइडर दर्ता भएका छन् र ४ लाख ग्राहक छन् । टुटलवाटै मासिक ६० देखि ७० हजार कमाउने राइडरहरू पनि छन् भनेर भट्टले जानकारी दिए । उनका अनुसार दैनिक १०० देखि २०० जना नयाँँ राइडर टुटलमा आबद्ध हुन्छन् ।

गज्जब के छ भने टुटलले अहिलेसम्म सामाजिक सेवा गरिरहेको छ । यसले राइडरहरूबाट कुनै शुल्क लिँदैन । यस हिसाबले यो कम्पनी नाफामा छैन । तर पनि कसरी चलिरहेको छ त ? भट्ट भन्छन्– ‘हामीले आफ्नै खल्तीबाट रकम राखेर कम्पनी चलाइरहेका छौँ । हामीले नयाँ प्रविधिलाई भरपर्दो तरिकाले बजारमा परिचित गराउन खोजेका हौँ र यसले युवालाई स्वदेशमै रोजगार दिन सकिन्छ भन्ने दृष्टान्त पेस गरेका छौँ । कानुनी अभावका कारण हामीले आर्थिक फाइदा लिनेगरी काम गरेका छैनौँ । सधैँ यसरी त चल्दैन तसर्थ निकट भविष्यमै हामी नयाँ योजनाका साथ आउनेछौँ ।’

हालसालै सञ्चालनमा आएको नयाँ राइड सेयरिङ एप सररको ५,२०० क्याप्टेन अर्थात् राइडर छन् । यसका अपरेसन हेड सन्तोष विमलीका अनुसार सररका ६ हजार ग्राहक छन् ।

विमली भन्छन्– ‘हामीले अन्यको भन्दा ५ देखि १० प्रतिशत सस्तो भाडा लिने गरेका छाँै । सुरुवाती चरणमा भएका कारणले सररका क्याप्टेनहरूले दैनिक ५ देखि ६ वटासम्म राइड पाउने गरेका छन् । यसका क्याप्टेनहरू २ खालका छन् । पहिलो जो सब्सक्रिब्सनको आधारमा काम गर्छन् । उनीहरूले मासिक ७ सय ५० रुपैयाँ सररलाई बुझाउनुपर्छ । त्यस्तै अर्काथरी राइडर छन् जो कमिसनका आधारमा काम गर्छन् जसले हरेक राइडवाट आएको रकमको ५ प्रतिशत सररलाई बुझाउँछन् ।’ सररको अर्को विशेषता भनेको यसको सेवा उपत्यका बाहिर पनि उपलब्ध छ । हाल यो लुम्बिनी र रुपन्देहीमा सञ्चालन भइरहेको छ भने पोखरामा पनि छिट्टै सञ्चालनमा आउने विमलीले बताए ।

सररमा हरेक दिन १०० देखि १ सय ५० जना नयाँँ क्यापटेनहरू संलग्न भइरहेका छन् । यसको क्याप्टेन अनलाइन मार्फत नै बन्न सकिन्छ । अन्यले जस्तै सररले पनि बेलाबेला छुट दिने गरेको छ, हालसम्म बढीमा ३० प्रतिशतसम्मको छुट दिएको कुरा विमलीले बताए ।

सररले हरेक राइडबाट आउने पैसावाट १ रुपैयाँ सामाजिक कार्यको लागि छुट्याउने गरेको छ । यो रकम हरेक ३ महिनामा कुनै न कुनै सामाजिक संस्थामा प्रदान गर्दै आइरहेको विमलीले जानकारी दिए ।

गुगल प्ले स्टोर अनुसार सररको कुल इन्स्टल ५ हजार छ र यसको रेटिङ ४.१ छ ।

कुनमा कति भाडा तिर्नुपर्छ ?

यी तीनबटै राइड सेयरिङ एपको काम एउटै भए पनि यिनीहरूले लिने भाडा भने फरक छ । अनामनगरमा अवस्थित केन्द्रविन्दु अनलाइन मिडियाको कार्यालयदेखि ७.१ किलोमिटरको दूरीमा रहेको नयाँ ठिमी जानु पर्‍यो भने पठाओमा १ सय ३४, टुटलमा १ सय ३८ र सररमा १ सय २९ रुपैयाँ लाग्ने रहेछ । त्यस्तै केन्द्रविन्दु अनलाइन मिडियाको कार्यालयदेखि ६.५ किलोमिटरको दूरीमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानु पर्‍यो भने पठाओमा १ सय २, टुटलमा १ सय ३२ र सररमा १ सय २३ रुपैया लाग्ने रहेछ ।

कुनचाहिँ बेस्ट ?

सबैका फरक फरक विशेषता छन्, हरेकका राम्रा–नराम्रा पक्ष छन् । तसर्थ यो राम्रो यो नराम्रो भनेर छुट्याउन उचित नहोला । तथापि राम्रो कुरा के भने हालको अवस्था हेर्दा यी तीनैवटा कम्पनीले आ–आफ्ना तर्फबाट प्रविधिको प्रयोगमार्फत यातायात क्षेत्रमा क्रान्ति ल्याउने कोसिस गरिरहेका छन् ।

समस्या र विकल्प

टुटल, पठाओ, सररजस्ता प्रकृतिका कम्पनी सञ्चालन गर्न नेपालमा कानुनको अभाव छ । यससम्बन्धी कानुन बनिसेको छैन । निजी प्रयोजनका लागि दर्ता भएका मोटरबाइक र कारहरू भाडामा सञ्चालन गर्न कानुनतः मिल्दैन ।

यसैकारण स्थापना कालदेखि नै बेलाबेलामा यी कम्पनीहरू विवादमा आएका छन् । यसको प्रयोग गर्ने उपभोक्ताको संख्या वृद्धि हुँदै जाँदा यसले असर पार्ने यातायात व्यवसायमा संलग्नहरूबाट पनि विरोधका स्वर आइरहेकै छन् । सरकारी तहबाटै पनि दुई पटकसम्म वन्द गर्ने तहमै निर्देशन आइसकेको स्थिति छ । यद्यपि उपभोक्ताहरूले रुचाएका कारण र यसलाई वन्द गर्दाको अवस्थामा सरकारमाथि तीव्र दबाब पर्ने भएकाले दुई पटक नै यसलाई बन्द गराउने निर्णयबाट सरकार पछि हट्नुपरेको छ ।

तसर्थ स्पष्ट कानुन निर्माण गरेर यो सेवालाई व्यवस्थित पार्नु नै अहिलेको आवश्यकता हो । यसलाई अनियन्त्रित छाड्नुभन्दा व्यवस्थित बनाएर सञ्चालन गर्न दिनु नै समय सान्दर्भिक हुनसक्छ ।

Logo