काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताएकी छिन् ।
बुधबार काठमाडौँमा १५० औँ हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक एउटा पुरानो महत्त्वपूर्ण संस्था भए पनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताइन् ।
उनले भनिन्, ‘यो एउटा पुरानो महत्त्वपूर्ण संस्था हो । नागरिक तहसम्म पुगेको एउटा बलियो संयन्त्र अझै पनि रहेको छ । यद्यपि पुनसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरू पालिका हुलाकमा स्थानान्तर गरेका छौँ । केही कार्यालय र कर्मचारीहरू हटेका पनि छन् । यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठूलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ ।’
यस्तै, उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यसका लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने हुन्छ । हुलाक सेवा अब यही रूपमा रहँदैन यसमा सुधार गर्नुपर्ने हुन्छ । कानुनी, कार्यक्रमगत संस्थागत रूपमा यसलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । त्यही अनुसार नै हामी काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’
यो क्षेत्रमा देखिएको समस्या समाधान गरिमा र भूमिका बढ्नेगरी काम सम्पादन गर्ने पनि उनको भनाइ छ । उनले भनिन्, ‘हामीले सरकारी सेवालाई प्राविधिक बनाइ सकेका छौँ । अब हुलाकको आवश्यकता छैन । भन्ने खालको प्रश्नहरू आउने गरेको छ त्यो प्रश्नहरूलाई सम्बोधन गर्ने गरि काम गर्नुपर्ने हुन्छ । यसका लागि यो दिवसले हामी सबैलाई यो क्षेत्रमा देखिएको समस्या समाधान गरी यसको गरिमा र भूमिका बढ्ने गरी काम सम्पादन गर्ने प्रेरणा मिलोस भन्न चाहन्छु ।’





























प्रतिक्रिया