सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन सूचना प्रविधि उद्योगीका लागि सकारात्मक छन्ः नासआईटी

सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन सूचना प्रविधि उद्योगीका लागि सकारात्मक छन्ः नासआईटी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् (नासआईटी) ले हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणको स्वागत गरेको छ ।

हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको शुरुवात गरेको नासआईटीले जनाएको छ । जुन नासआईटीको पहल र नीतिगत वकालतको परिणाम भएको संस्थाको दाबी छ ।

सरकारको यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै सशक्त तथा विश्वव्यापी बनाउने बताइएको छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ ।

यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउनेछ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा साबित हुने उसले विश्वास लिएको छ ।

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको नासआईटीले विश्वास लिएको छ । यसमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार भएको जनानएको छ ।

नेपालको सूचना प्रविधि उद्योगले शुरुवाती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ । यस क्रममा विदेशी लगानीकर्ताहरू र देशभित्र रोजगारी सिर्जना गर्ने रोजगारदाताहरूको संलग्नता उल्लेखनीय रूपमा बढिरहेको छ ।

नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ। यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरूबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटीले आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरूसँग सम्बन्धित कानूनी, नीतिगत र अन्य सामुहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत रहँदै आएको छ ।

Logo