-फुर्बा शेर्पा
दुबई । सञ्चार, प्रविधि र अन्तरिक्ष नवप्रवर्तनको विश्वस्तरीय प्रदर्शनी तथा सम्मेलन क्याबस्याट, इंटीग्रेट मिडिल ईस्ट र एसएटीएक्सपो मिडिल ईस्ट २०२५ले गत मे १३ देखि १५ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा भव्यताका साथ सम्पन्न भएको छ । यस वर्ष ३२,००० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको महत्वलाई थप उजागर गरेको छ।
प्रदर्शनीमा १२० भन्दा बढी मुलुकबाट आएका ८२० भन्दा बढी ब्रान्ड र १९० जना उच्चस्तरीय वक्ताहरूको सहभागिता रहेको थियो । चीन, फ्रान्स, जर्मनी, बेलायत लगायतका देशका विशेष राष्ट्रिय पविलियनहरूले कार्यक्रमको आकर्षण थपेका थिए। प्रविधि, रचनात्मकता र सहकार्यको अनुपम संगम बनेको यो त्रैवार्षिक आयोजना तीनवटा छुट्टाछुट्टै क्षेत्रीय सम्मेलनको रूपमा सम्पन्न भयो।
क्याबस्याट २०२५ (३१औं संस्करण): प्रसारण, सामग्री निर्माण र एआई-प्रविधिको क्रान्ति
क्याबस्याट २०२५ को यस संस्करणमा विशेष गरी एआईआधारित पूर्णतः स्वचालित ब्रोडकास्ट प्रणालीहरू (जस्तै एसआई मिडियाको कॉन्स्टेंस एआई) प्रदर्शन गरिएकाे थियाे । कन्टेन्ट कांग्रेसमा भविष्यको खेलकुद प्रसारणबारे महत्वपूर्ण छलफल भयो, जसले मेना क्षेत्रको खेल मिडिया बजार २०२७ सम्ममा ६.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको सन्दर्भमा ठूलो महत्व राखेको छ। नेपालबाट सहभागी एक मिडिया प्रोफेशनलले यहाँ नेपालमा अपनाउन सकिने विभिन्न डिजिटल समाधानहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको र यी प्रविधिहरूले सामग्री उत्पादनको स्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउन सक्ने बताए।
इंटीग्रेट मिडिल ईस्ट २०२५ (तेस्रो संस्करण): प्राे एभी र स्मार्ट सिटी इन्फ्रास्ट्रक्चर
यस खण्डमा एआई-समर्थित वायरलेस माइक्रोफोनदेखि स्मार्ट भेन्यु प्रविधिहरू, अनुकूली डिजिटल साइनज र इमर्सिभ अडियो–भिजुअल टूलहरूसम्मका नवप्रवर्तनहरू प्रस्तुत गरिए। बाेयाको विश्वकै पहिलो एआई माइक सिस्टम यसको मुख्य आकर्षण थियो। शहरी प्रविधिमा चासो राख्ने सर्जकहरूका लागि यो खण्ड निकै उपयोगी रह्यो, किनभने प्राे एभी प्रविधिहरू अब स्मार्ट सिटी निर्माणको आधार बनिरहेका छन्।

एसएटीएक्स्पाे मिडिल ईस्ट २०२५ (प्रथम संस्करण): अन्तरिक्ष, स्याटेलाइट र दिगोपन
पहिलो पटक आयोजित एसएटीएक्स्पाे मिडिल ईस्टमा स्याटेलाइट प्रविधिमा भइरहेको नवीनतम एआई इन्फ्युज्ड प्रविधिबाट लिएर यूटेलस्याटको स्याटेलाइट कनेक्टिभिटीमा आधारित ई-स्पाेर्ट्स रेसिङ कार्यक्रम सम्मका अविश्वसनीय अनुभवहरू साझा गरिएका थिए ।
क्याबस्याट २०२५ मात्र प्रविधिको प्रदर्शनी नभई यो एक ग्लोबल नवप्रवर्तन र सहकार्यको केन्द्रको रूपमा स्थापित भएको छ। नेपालजस्ता देशका मिडिया व्यवसायी, फिल्म निर्माता र डिजिटल कन्टेन्ट क्रिएटरका लागि यस्ता मञ्च नयाँ दृष्टिकोण, सञ्जाल र प्रविधिमा पहुँचको सुनौलो अवसर हुन्।

आगामी संस्करण २०२६ मे २०–२२ मा पुनः आयोजना हुने निश्चित भइसकेको छ, र नेपाली सर्जकहरू यस्ता अन्तर्राष्ट्रिय मञ्चमा अझ मजबूतीका साथ उपस्थित हुने विश्वास व्यक्त गरिएको छ। यसले नेपालको मिडिया र प्रविधि क्षेत्रमा नयाँ आयाम थप्ने सम्भावनालाई उजागर गरेको छ।
































प्रतिक्रिया