बर्डफ्लु प्रभावित १ सय ४ फार्मले पाए ५० करोड क्षतिपूर्ति

बर्डफ्लु प्रभावित १ सय ४ फार्मले पाए ५० करोड क्षतिपूर्ति

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पछिल्लो चार महिनामा बर्डफ्लु संक्रमणबाट १ सय ६२ वटा कुखुरा तथा पन्छी फार्म प्रभावित भएका छन् । त्यसमध्ये १ सय ४ प्रभावित किसान तथा फार्मको बैंक खातामा ५० करोड ७१ लाख १५ हजार ७ सय ४ रुपैयाँ २५ पैसा क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ ।

सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि वन तथा पर्यावरण मन्त्रालयबाट क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको र उक्त रकम क्षतिपूर्तिबापत किसानलाई दिइसकिएको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले जनाए । चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भने विभागसँग २ करोड रुपैयाँ बजेट रहेको उनको भनाइ छ ।

थप दाबी आउने भएकाले करिब १० करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको उपाध्यायले बताए । ‘साउनयता संक्रमण नेगेटिभ देखिएको छ,’ उनले भने, ‘किसानले क्षतिपूर्ति पनि पाइरहेका छन् । अब संक्रमण थप घट्दै जाने अनुमान गरेका छौं ।’ संक्रमणका कारण आफैं मरेका पन्छीको क्षतिपूर्ति नदिइने र सरकारले नष्ट गरेका पन्छीको मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेको उपाध्यायको भनाइ छ । ‘सबै प्रभावित फार्मले क्षतिपूर्ति पाउँदैनन् । कतिपय पन्छी आफैं मरिसकेका हुन्छन् । सरकारले नष्ट गरेका पन्छीको मात्रै क्षतिपूर्ति दिन्छ ।’

संक्रमण नियन्त्रणका क्रममा ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरिएको छ । साथै १२ लाख २५ हजार ५ सय ३६ वटा अन्डा र २ लाख ६४ हजार २ सय १३ किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जारी गरेको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गएको ४ फागुनमा कोशीको सुन्दरहरैंचा–४ र उर्लाबारी–८ मा पुष्टि भएयता असार मसान्तसम्म १२ जिल्लाका १ सय ६२ वटा फार्म प्रभावित भएका हुन् ।

बर्डफ्लु संक्रमणका कारण सबैभन्दा बढी फार्म भक्तपुरमा प्रभावित भएका छन् । भक्तपुरमा ४५ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३२, काभ्रेपलाञ्चोकमा २७, सुनसरीमा २३, ललितपुरमा १५, मोरङमा ११, झापामा ४ तथा चितवन, नवलपरासी पश्चिम, बारा र महोत्तरीमा समेत संक्रमण देखिएको विवरणमा उल्लेख छ ।

संक्रमणका कारण सबैभन्दा बढी पन्छी काठमाडौंमा नष्ट गरिएको छ । काठमाडौंमा १ लाख ११ हजार ४ सय ७, भक्तपुरमा १ लाख ३५ हजार १ सय ५८, सुनसरीमा २ लाख ८५ हजार ५ सय ३१ र मोरङमा १ लाख ४ हजार ६ सय ५९ पन्छी नष्ट गरिएको हो । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका मात्रै १ सय १९ स्थानमा बर्डफ्लु पुष्टि भएको छ ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्यांकन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड २०७९’ अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति निर्धारण गरेर नष्ट गरिएअनुसार दररेट तोकेर क्षतिपूर्ति दिने व्यवस्था छ । समितिले नष्ट गरेको अवस्थामा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ ।

सुनसरीमा रहेको आफ्नो फार्ममा १ लाख ५० हजार कुखुरा नष्ट गर्दा १८ देखि २० करोडको क्षति भए पनि सरकारबाट १० करोड क्षतिपूर्ति लिएको नेपाली पोल्ट्री महासंघका सदस्य तिलचन्द भट्टराईले जनाए । ‘पैसा भर्खरै आएको हो । १० करोड हाराहारीमा क्षतिपूर्ति आए जस्तो लागेको छ । यसले पक्कै व्यवसायमा केही राहत दिन्छ ।’

बर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि जोखिम कायमै रहेको विभागले बताएको छ । फार्म आसपास अग्ला रुखमा जंगली चराको बासस्थान हुनु, सिमसार क्षेत्रनजिक फार्म हुनु, जैविक सुरक्षा मापदण्ड पालना नहुनु, सवारीसाधन तथा आगन्तुकको अनियन्त्रित आवतजावत र उचित निर्मलीकरणबिना अन्डाका क्रेट पुनः प्रयोग गर्नुलाई संक्रमणका प्रमुख जोखिमका रूपमा औंल्याइएको छ ।

Logo