फेसबुकको डाटा चोरीमा मार्कले मागे फेरी माफी

फेसबुकको डाटा चोरीमा मार्कले मागे फेरी माफी

केन्द्रबिन्दु
0
Shares

विश्वकै सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक संजालको रुपमा रहेको फेसबुकको डाटा चोरीको बिषय अहिले अन्तराष्ट्रिय क्षेत्रमा चर्चाको बिषय रहेको छ । केही साता देखि उठेको यो विवादलाई समाधान गर्ने प्रयास स्वरुप फेसबुकका संस्थापक मार्क जुकरबर्गले सार्वजनिक रुपमा माफी समेत मागेका छन् । यो विचमा फेसबुकको सेयरमा ७ प्रतिशत गिरावट आएर करोडौं डलर घाटा समेत भएको थियो ।

फेसबुकको बिषयमा अहिले आएको विवाद पहिलो भने होईन । यसअघि पनि फेसबुक आफ्ना प्रयोगकर्ताहरुले राखेको जानकारीहरु अरु पक्षले हात पारेको र कतिपय अवस्थामा फेसबुक आफैंले उपलब्ध गराएको कारण विवादमा आएको थियो । अहिले आएको विवाद भने फेसबुकका करोडौं प्रयोगकर्ताको सुचना अर्कै कम्पनीले चोरी गरेर अमेरिकी राष्ट्रपति चुनावको बेला प्रयोग गरेको भन्ने रहेको छ ।

डेटा ब्रिज भनेर चर्चामा आएको पछिल्लो घटना भनेको बेलायतको एक कम्पनी क्याम्ब्रिज एनालेटिकसंग जोडिएको छ । क्याम्ब्रिजले फेसबुकवाट करिव ५ करोड प्रयोगकर्ताको जानकारी चोरी गरेर अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा जनमत बनाउन प्रयोग भएको अनुमान गरेको छ । यो कम्पनीले बेलायतलाई यूरोपियन युनियनवाट अलग हुन चालेको ब्रेजिक्ट अभियानमा पनि फेसबुककै प्रयोगकर्ताहरुको सुचना चोरेर ब्रेजिक्टको पक्षमा जनमत बनाउन प्रयोग गरेको आशंका गरिएको छ ।

सन् २०१३ मा स्थापना भएको क्याम्ब्रिज एनालेटिक्सको पछिल्लो काम भनेको भोटरहरुको प्रोफाइलहरु पत्ता लगाएर सोही अनुसार जनमत तयार गर्ने नै रहेको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा जनमत तयार गर्न सोही कम्पनीलाई कार्य गर्न लगाईएको थियो । यसको लागि रोबर्ट मर्सर नामका एक इन्भेष्टरले क्याम्ब्रिजलाई १ करोड ५० लाख डलर दिएका थिए । पछि रोबर्ट मार्सरको नाम रिपब्लिकन पार्टीको पक्षमा क्याम्पेन चलाउनेमा आएको थियो ।

फेसबुकमा रहेको डाटा चोरीको घटना निकै रोचक पनि रहेको छ । युनिभर्सिटी अफ क्याम्ब्रिजमा साईकोलोजीका प्रोफेसर एलेक्ज्याण्डर कोगनले आफ्नो ग्लोबल साईन्स रिसर्च कम्पनीको तर्फवाट रिसर्च गर्न फेसबुकका प्रयोगकर्ताहरुको डाटा संकलन गर्न क्याम्ब्रिज एनालेटिक्ससंग संझौता गरेको थियो । कोगनले बनाएको ‘दिस इज योर डिजिटल लाईफ’ एप मार्फत् सन् २०१४ मा फेसबुकका प्रयोगकर्ताको मनोबिज्ञानको हाजिर जवाफ सर्वेक्षण गराएका थिए । आफ्नो मनोबिज्ञान कुन स्थितीमा रहेको छ भन्ने परिक्षण गर्ने प्रस्ताव राखेर एप मार्फत् सर्वेक्षण गरेको थियो । करिव २ लाख ७० हजार ब्यक्तिहरुले यो एप मार्फत् सहभागिता गरेका थिए । यो एपले सर्वेक्षणमा सहभागि भएकाहरुको फेसबुकको पर्सनल डाटा र उनीहरुको साथीको समेत जानकारी लिने किसिमले बनाएका थिए । जुन डाटालाई पछि परिक्षण गर्न क्याम्ब्रिज एनालेटिक्सलाई दिएको थियो ।

फेसबुकवाट प्रयोगकर्ताहरुको सुचना चोरी भएको जानकारी फेसबुकलाई भएको थियो । उसले त्यही बेला क्याम्ब्रिज एनालेटिक्सलाई मेट्नका लागि अनुरोध गरेको थियो । तर क्याम्ब्रिजले उक्त डाटा डिलिट गरेन भने डाटा चोरीएका प्रयोगकर्ताहरुलाई फेसबुकले जानकारी पनि दिएन ।

डाटा चोरी भएको बिषयमा अमेरिकी संचारमाध्यमहरुले समाचार प्रकाशित गरेपनि उक्त समाचारमा पुष्टि गर्ने कुनै आधार पत्रकारहरुले फेला पार्न सकेका थिएनन् । तर गत सप्ताह सण्डे गार्जियनका सम्वाददाताले क्याम्ब्रिज एनालेटिक्सका पूर्व कर्मचारीको हवाला दिदैं समाचारको पुष्टि गरेपछि यो घटना तथ्य सहित सार्वजनिक भएको थियो । यो डाटा कुन कुन देशका नागरिकहरुको चोरी भएको छ भन्ने कुरा अझैं खुलेको छैन । तर फेसबुकमा आउने तपाई पूर्व जन्ममा के हुनुहुन्छ, तपाईलाई अत्याधिक माया गर्ने को होला, तपाईको गुणहरु के के छन् जस्ता बिषयमा जानकारी लिन चाहने प्रयोगकर्ताहरुको जानकारी चोरी भएको सोसल एनालेटिक्सहरुले बताएका छन् ।

Logo