काठमाडौं
नेपालले अर्को वर्ष भित्र आफ्नै भूउपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भूउपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो । भूउपग्रह सम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए ।
नास्टले यो इन्स्टिच्युटमा भूउपग्रह सम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ । नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ । नेपालमा भूउपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो । दुई जना मध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ । नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ । तर अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए । उनले भने, ‘हामीले तीन महिना अघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं ।’
नास्टका उपलकुलपति पोखरेलका अनुसार अर्को वर्षको अगस्टमा भूउपग्रह प्रक्षेपण गर्ने तयारीसाथ काम भइरहेको छ । अमेरिकाको फ्लोरिडाबाट उक्त भूउपग्रह प्रक्षेपण हुनेछ । न्यानो साइज (१० सेन्टिमिटर) को भूउपग्रह नेपालकै पहिलो उपग्रह हुनेछ । विज्ञान मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले सानो आकारको भए पनि अन्तरीक्षमा नेपालले पहिलो उपस्थिति जनाउने भएकाले यसको महत्व धेरै भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो १० केजी भन्दा पनि सानो हुनेछ तैपनि भूउपग्रहको करिब ६० वर्ष पुरानो इतिहासमा नेपालको पनि उपस्थितिले सकारात्मक सन्देश जान्छ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया