काठमाडौं। ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएको छ। केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्न थालेका छन्।
जिल्लाका दुर्गम बस्तीमा विद्युत् सेवा पुगेपछि विद्यालयले डिजिटल माध्यमबाट पठनपाठन गराउन थालेका हुन्। यसले शिक्षकलाई विषयवस्तु स्पष्ट ढङ्गले प्रस्तुत गर्न र विद्यार्थीलाई बुझ्न सजिलो हुने यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए। ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुगेको र इन्टरनेट सुविधा पुगेपछि सिकाइ अझ सहज बनेको उनले जानकारी दिए।
विद्युत् विस्तारसँगै धेरै विद्यालयमा कम्प्युटरको प्रयोग बढेको छ भने केही विद्यालयले प्रोजेक्टरमार्फत भिडियो तथा प्रस्तुतिका माध्यमबाट कक्षा सञ्चालन गर्न थालेका छन्। प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढेको शिक्षकहरूको अनुभव छ।
पहिले पाठ्यपुस्तकमा आधारित परम्परागत शिक्षण पद्धति प्रयोग हुने गरे पनि अहिले डिजिटल सामग्री, शैक्षिक भिडियो, प्रस्तुतिकरण तथा अनलाइन स्रोतहरूको प्रयोग बढ्दै गएको छ। यसले शिक्षणलाई प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुगेको सरोकारवालाहरू बताउँछन्।
विद्यार्थीहरूले पनि प्रविधिको प्रयोगले पढाइ थप रोचक र बुझ्न सजिलो भएको बताएका छन्।
तर जिल्लाका सबै विद्यालयमा समान रूपमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू हुन सकेको छैन। केही दुर्गम क्षेत्रका विद्यालयमा इन्टरनेट पहुँच र आवश्यक उपकरणको अभाव चुनौतीका रूपमा रहेको छ। स्थानीय तह तथा सरोकारवाला निकायले उपकरण उपलब्ध गराउने र शिक्षकलाई प्रविधि प्रयोगसम्बन्धी तालिम दिने कामलाई प्राथमिकता दिएका छन्।





























प्रतिक्रिया