काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आइतबार दिउँसाे विश्वभर अचानक अवरुद्ध भएको छ । प्राविधिक समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट लगइन गर्न र फेसबुकका मुख्य सुविधाहरू प्रयोग गर्न समस्या भोग्नुपरेको छ।
इन्टरनेट सेवाहरूको अवस्था निगरानी गर्ने सङ्गठन ‘डाउनडिटेक्टर’का अनुसार आइतबार बिहान साढे १० बजेपछि फेसबुकमा समस्या आएको भन्दै उजुरी गर्नेहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको थियो। सामान्य अवस्थामा नगन्य रहने यस्तो गुनासो अचानक बढेर हजारौँ पुगेको तथ्याङ्कले देखाएको छ।
फेसबुकमा प्राविधिक गडबडी आएसँगै प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल खोल्न, तस्बिर तथा भिडियोहरू अपलोड गर्न र फेसबुकको भगिनी एप्लिकेसन मेसेन्जरमार्फत सन्देशहरू पठाउन नसकेको गुनासो गरेका छन्। विशेषगरी फेसबुकको डेस्कटप संस्करण अर्थात् कम्प्युटर र ल्यापटपको वेब ब्राउजरमा यो समस्या बढी देखिएको छ। डेस्कटपबाट फेसबुक चलाउन खोज्दा स्क्रिनमा अकाउन्ट अस्थायी रूपमा उपलब्ध हुन नसकेको र साइटको समस्या समाधान गरेर चाँडै सेवा सुचारु हुने सन्देश देखिने गरेको छ।
डाउनडिटेक्टरले सङ्कलन गरेको विवरण अनुसार कुल समस्याहरूमध्ये ६० प्रतिशतभन्दा बढी वेबसाइट संस्करणसँग सम्बन्धित छन् भने बाँकी मोबाइल उपकरण र एपसँग जोडिएका छन्। केही प्रयोगकर्ताहरूले मोबाइल फोनमा फेसबुक चले पनि डेस्कटपमा भने पूर्ण रूपमा ठप्प भएको बताएका छन्।
फेसबुकको मातृ कम्पनी मेटाले भने यो समाचार तयार पार्दासम्म सेवा अवरुद्ध हुनुको आधिकारिक कारणबारे कुनै स्पष्टीकरण दिएको छैन।































