क्यालिफोर्निया, २१ असोज । स्मार्टफोनका ठुला निर्माताहरु विच अब हुने प्रतिस्पर्धा मोवाइलमा रहेको आर्टिफिसियल इन्टेलिजेन्समा हुने भएको छ ।
स्मार्टफोनमा आर्टिफिसियल इन्टेलिजेन्सको सुरुवात एप्पलले आफ्नो आईफोनमा र सामसुङले नोट सिरिजमा गर्दै लगेपछि गुगलले आफ्नो पिक्सेल सिरिजको मोवाइलमा यसलाई अझ सुधार गर्न थालेको छ । आईफोनमा आर्टिफिसियल इन्टेलिजेन्सको रुपमा सिरी र सामसुङमा बिक्सबी रहेपछि गुगलले पछिल्लो पटक अन्तराष्ट्रिय बजारमा ल्याउन लागेको पिक्सेल टु र पिक्सलेल टु एक्सएलमा गुगल असिस्टेन्ट मार्फत् चुनौती दिने प्रयास गरेको छ ।
गुगलले पहिला निकालेको मोवाइल फोनको तुलनामा यसपटक बजारमा ल्याउन लागेको पिक्सेल टु र पिक्सेल टु एक्सएलमा आर्टिफिसियल इन्टेलिजेन्सलाई अझ सुधार गरेको जनाएको छ । यो सेटको एउटा मुख्य विशेषताको रुपमा गुगल लेन्स रहेको छ । यो लेन्सले तस्विरहरुलाई खोज्न सजिलो बनाउने गर्छ । यो सेटमा एउटा एक्टिभ एज फिचर पनि रहेको छ । यो फिचरलाई थिच्ने बित्तिकै गुगल असिस्टेन्ट खुल्छ र प्रयोगकर्तालाई आफ्नो चाहना अनुसार काम गर्न सजिलो बनाउछ ।
गुगलले पिक्सेल टुको सिरिजको क्यामेरा लेन्समा पनि ब्यापक सुधार गरेको छ । पिक्सेलको पहिलो सिरिजको लेन्सले अन्तराष्ट्रिय मापदण्डको परिक्षण गर्दा ८९ स्कोर ल्याएकोमा यसपटक जडान गरेको लेन्सले डिएक्सओ परिक्षणमा ९८ स्कोर ल्याएको थियो ।
पिक्सेल मोवाइल चलाउदा प्रयोगकर्ताले अनलिमिटेड स्टोरेज स्वभाविक रुपमै पाउने हुनाले स्टोरेजको कुनै झन्झट नहुने नै भयो । यो सेटको ब्याट्रि चार्जिङ पनि अनौठो रहेको छ । कम्पनीले १५ मिनेटको चार्जमा ७ घन्टा टिक्ने ब्याट्रि जडान गरेको छ ।
पिक्सेल टु ५ इन्चको ओलिड स्क्रिनमा रहेको छ । पिक्सेल टु एक्सएल ६ इन्चमा रहेको छ । पिक्सेल टु र पिक्सेल टु एक्सएलको इन्टरनल क्षमता ६४ र १ सय २८ जिवीको रहेको छ । कम्पनीले यो सेटको प्रि अर्डर बुकिङ आगामी अक्टुबर २८ तारिख देखि गर्ने जनाएको छ । अन्तराष्ट्रिय बजार मुल्य अनुसार पिक्सेल टु ६४ जिवी ९७ हजार, १ सय २८ जिवी १ लाख १२ हजार, पिक्सेल टु एक्सएल ६४ जिवीको १ लाख १६ हजार र १ सय २८ जिवीको १ लाख ३१ हजार रुपैंया पर्ने अनुमान गरिएको छ । एजेन्सी





























प्रतिक्रिया