दसैं विशेषः कोभिडले सिकाएको नयाँ अभ्यासः भर्चुअल टीका र डिजिटल दक्षिणा

दसैं विशेषः कोभिडले सिकाएको नयाँ अभ्यासः भर्चुअल टीका र डिजिटल दक्षिणा


दसैँ । यो शब्द आफैंमा एउटा उत्साह र उमंगले भरिपूर्ण शब्द हो। अझै दसैँ नजिकिँदै गर्दा आम नेपालीहरू, कामको सिलसिलामा टाढिएकाहरू पनि घर फर्किएका छन्।

तर पछिल्लो वर्षबाट दसैँलाई पनि डिजिटल तरिकाबाट मनाउन सकिन्छ भन्ने पाठ हामीले सिक्यौँ। त्यसो त कोभिडको जोखिमले हामी नेपालीहरूलाई मात्र नभई विश्वलाई नै नयाँ पाठ सिकायो। हामी हरेक कार्यलाई डिजिटल अर्थात् प्राविधिक रूपमा पनि गर्न सक्छौ भनेर। 

सोही पाठलाई आत्मसाथ गर्दै कोरोना कहरका कारण हामीले पनि गत वर्ष दसैँलाई डिजिटल रूपमा मनाउन बाध्य भयौ । सामाजिक सञ्जालबाट टीका लगायौँ। आर्शिवाद समेत ग्रहण गर्यौं। दसैँको दक्षिणा पनि डिजिटल रूपमै उपलब्ध गराउने अभ्यास गर्याैं। यसरी जुनसुकै ठाउँमा बसेर पनि दसैँ मनाउन सकिने रहेछ भन्ने पाठ समेत सिक्यौं।

त्यसो त कोभिडको जोखिम कम हुँदै गएको अवस्थामा यस वर्ष दसैँ मनाउन देशका सहरी क्षेत्रबाट गाउँघर फर्कनेहरुको लर्को गत वर्षको भन्दा लामो छ। काठमाडौंको असर, भृकुटी मण्डप र ठूल्ठूला सपिङ मलमा नयाँ कपडा किन्नेहरूको घुइँचो देखिन्छ। दसैंमा घर जान टिकट काट्नेहरूको चाप पनि उस्तै छ । तर कामका सिलसिलामा गाउँघर पुग्न नसक्नेहरूले पनि गत वर्षमा झैँ डिजिटल रूपमै दसैँ मनाउने तयारी गरिरहेका छन्। 

प्रविधिको बढ्दो प्रयोगसँगै मुद्रालाई पनि डिजिटलाइजेसन गर्दै लैजाने प्रयोग नेपालमा पनि बढ्दो छ । विभिन्न सपिङ मलदेखि लिएर रेस्टुराँ, कपडा पसल मात्र हैन, सामान्य किराना पसलमा समेत डिजिटल मुद्रा अर्थात् ‘ई पे’को प्रयोग बढ्दो छ। 

यसरी दसैँ मनाउनकै लागि विभिन्न कम्पनीहरूले धमाधम आ–आफ्ना अफरहरू सार्वजनिक गर्दैछन्।

डिजिटल दक्षिणा सार्वजनिक गर्ने तयारी छः ई सेवा 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ‘ई सेवा’ ले यो वर्ष पनि आफ्ना प्रयोगकर्ताहरूका लागि ‘डिजिटल दक्षिणा’ को अवधारणा सार्वजनिक गर्ने योजना ल्याउँदैछ। 

डिजिटल दक्षिणा सार्वजनिक गर्ने योजना रहेको बताउँदै कम्पनीका व्यापार विभाग प्रमुख आशिष प्रसाईँले भने, ‘डिजिटल दक्षिणा सार्वजनिक गर्ने तयारी पुरा भएको छ। यो योजना सार्वजनिक भएसँगै दक्षिणालाई डिजिटल रूपमा उपलब्ध गराउन सकिन्छ। योजनाअन्तर्गत के कस्ता सुविधा र क्यास ब्याक हुने भन्ने विषय सार्वजनिक भएसँगै जानकारी गराउने छौँ।’

यससँगै ई सेवाले दसैँको अवधिभरि ई सेवाबाट बैंक खातामा पैसा जम्मा गर्दा कुनै पनि शुल्क नलाग्ने गरी योजना सार्वजनिक गरिसकेको छ । यसबाट पनि डिजिटल दक्षिणाको प्रयोगमा सहयोग पुग्दै गरेको विभाग प्रमुख प्रसाईँको विश्वास रहेको छ।

यो वर्षको दसैँमा डिजिटल दक्षिणालाई अभियानका रूपमा अघि बढाउने ई सेवाको योजना रहेको छ । यस्ता योजना सार्वजनिक गर्नुका पछाडि प्रविधिमा अघि बढ्दै गएको समाजलाई मुद्रामा पनि डिजिटलाइजेसन गर्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको प्रसाईँको भनाइ छ। यस्तो प्रकारको योजनामा प्रयोगकर्ताहरूलाई बानी पार्दै लैजानुपर्ने विभाग प्रमुख प्रसाईँ बताउँछन्। 

गत वर्ष ई सेवाले गरेको यो अभ्यासबाट सन्तोषजनक प्रयोगकर्ता भएको अनुभव सुनाउँदै उनले थपे, ‘गत वर्ष पहिलो पटक यो प्रयोग गरेका थियौँ, जसबाट सन्तोषजनक रूपमा प्रयोगकर्ता पनि पायौं । पहिलो पटक भएकाले योजना बुझ्न समय लागेको हो। तत्काल यसको महत्त्व त्यति धेरै नभए पनि हाम्रो कम्पनीले डिजिटल दक्षिणाको भविष्य देखेको छ।’

संस्कृतिलाई डिजिटलाइजेसन गर्नु उचित हैनः आइएमइ पे 

आइएमएइ पेको अवधारणा मुद्रालाई डिजिटलाइजेसन गर्ने भए पनि संस्कृतिलाई नै डिजिटलाइजेसन गर्नु उचित नभएको कम्पनीका कार्यकारी अधिकृत (सिइओ) विकास नाहाटा बताउँछन् । 

केन्द्रविन्दुसँगको कुराकानीका क्रममा नाहाटाले भने, ‘गत वर्ष कोभिडको महामारी थियो। त्यो समयमा डिजिटल दक्षिणा एउटा विकल्पको रूपमा थियो, त्यसलाई स्वीकार गर्न सकिन्छ। तर, अहिले त बजार खुलेको अवस्था छ। यो अवस्थामा पनि हाम्रो संस्कृतिलाई डिजिटलाइजेसन गर्न उचित हैन । दसैँमा पाउने दक्षिणा भनेको पैसा मात्र नभएर आर्शिवादको रूपमा हामीले लिने गरेका छौँ । त्यस कारण पनि यो उचित हैन भन्ने लाग्छ।’

कम्पनीका सिइओ नाहाटा वर्ष दिनमा आउने महान् चाडमा सकेसम्म गाउँघर जान सुझाव दिन्छन्। काम विशेषले घर जान नसक्ने अवस्था आएको समयमा मात्र डिजिटल दक्षिणा र भर्चुअल टीका विकल्प बन्न सक्ने उनको विश्वास छ।

आइएमइ पेले यो वर्ष डिजिटल दक्षिणाको अवधारणालाई अवलम्बन नगर्ने भएको छ। संस्कृति छाड्नेभन्दा पनि संस्कृति जोगाउनेतर्फ नै कम्पनीको जोड रहेको सिइओ नाहाटाको भनाइ छ।

सकारात्मक, नकारात्मक दुवै पक्ष छः अर्थविद् डा. भण्डारी

प्रविधिको बढ्दो प्रयोगसँगै हरेक कुरामा डिजिटलाइजेसन हुनुलाई सामान्य रूपमा हेर्न सकिन्छ। तर डिजिटलाइजेसनको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको अर्थविद् डा. रमेश कुमार भण्डारी बताउँछन्।

नकारात्मक पक्षलाई हेर्दा डिजिटलाइजेसनले मानिसलाई एक्लो बताउने डा. भण्डारीले जिकिर गरेका छन्। उनले भने, ‘मानिस सामाजिक प्राणी हो। तर डिजिटलाइजेसनले मानिसहरू एक्लै बस्न रुचाउँछन्। चाडबाडदेखि लिएर सिकाइका कुराहरूमा पनि डिजिटलाइजेसन भएसँगै मानिस जहाँ जुन अवस्थामा छ, त्यही अवस्थामा काम गर्न सक्ने भयो। यसले अरू व्यक्तिलाई भेट्न रुचाउँदैन।’ 

यस्तो व्यवहारको विकास कोभिडको समयबाट बढ्दै गएको डा. भण्डारी बताउँछन्। यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा पनि असर गर्ने उनको भनाइ छ। डिजिटलाइजेसनको सकारात्मक पक्षको विषयमा कुरा गर्दै उनले भने। ‘ 

डिजिटलाइजेसनलाई हाम्रो आदत नबनाउने र आवश्यक्ताअनुसार मात्र प्रयोग गर्ने हो भने यो राम्रो हो। किनभने चाडबाडमा घर परिवारसँग भेट्न नसक्ने अवस्थामा पनि भर्चुअल मध्यमले नजिक भएको आभास गराउन सक्छ।’

समय अनुकूल चल्नुपर्छः संस्कृतिविद् डा. गुरुङ

प्रविधिको बढ्दो प्रयोगसँगै हामीले सांस्कृतिक प्रविधि सिक्दै गएको संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन्। प्रविधिलाई हामीले बहिष्कार गर्न नसकिने भएकाले समय अनुकूल चल्नुपर्ने उनको भनाइ छ। 

केन्द्रविन्दुसँग कुरा गर्दै उनले भने ‘हामी प्रविधिअनुसार अघि बढ्नुपर्छ । तर, संस्कृतिको सवालमा प्रविधिलाई प्रोत्साहन गर्न हुँदैन। हामीसँग भर्चुअल माध्यम छ भनेर वर्षमा एक पटक आएको महान् चाडमा घर नै नजाने भन्ने कुरा उचित हैन। सम्भव भएसम्म जानुपर्छ। नसक्दा समय अनुसार प्रविधिको प्रयोग पनि गर्न सकिन्छ। यो हामीले पाएको सुविधा हो।’

नेपालीहरूको पारिवारिक संगठन भत्किँदै गएको डा. गुरुङको भनाइ छ। विगतमा चाडपर्वको समयमा सबै परिवार भेला हुने प्रचलन प्रविधिका कारण हराउँदै गएको उनी बताउँछन्।

Logo