काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए । छलफलमा सहभागि भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताए ।
उनले भने, ‘यो अहिले जुन पार्टी भित्र ब्लेम गेम चलिरहेको छ प्रोक्सी वार चलिरहेको छ यो ब्लेम गेम र प्रोक्सीवारलाई अन्त्य गर्नुप¥यो भन्ने सुझाव हामी सबैले राखेका छौं । घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्वतहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ । त्यस सन्दर्भमा हामीले भन्यौं यसको समाधान पनि तपाईहरुले आपसी संवाद र विमर्र्श बाहेक अन्यत्र खोज्न सकिदैन । त्यसैले दुईवटा अध्यक्षको बीचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुप¥यो । पार्टीको सचिवालयमा राम्रो सम्बन्ध हुनुप¥यो । स्थायी कमिटीको बीचमा सम्बन्ध हुनुप¥यो र सिंगो केन्द्रीय कमिटी र पार्टी पंङ्तिमा एउटा हार्दिक भावना विकास हुनुप¥यो त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईले नै ज्यादा पहलकदमी लिनुप¥यो भनेका छौं । ’
उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताए । उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजन तिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए ।
मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिन समेत आग्रह गरिएको बताए । उनले भने, ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुप¥यो । आफैलाई बुझ्नु प¥यो आफू कसरी आइयो कुन जगबाट आइयो कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो कसरी पार्टीको अध्यक्ष भइयो वरिष्ठ नेता भइयो, त्यो एकपल्ट वहाँहरुले आफ्नो इतिहास खोतल्नु भयो भने समाधान निस्किन्छ अनि अर्काका दुःख अर्काका पीडा पनि उहाँहरुले बुझ्नु भयो भने फेरी हामी एकैठाउँमा हुन्छौं ।’
उनले हिजोको बैठकमा नेताहरु प्रस्तुत भए अनुसार वरिष्ठ नेताहरुको बीचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको बताए । यसले पार्टीलाई संवेदनशिल बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए । मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नु पर्ने बताए । अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उनले बताए ।
उनले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिईएको बताए । उनले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्न समेत सझाव दिइएको बताए । निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दल दर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदैछ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफूलाई नलागेको मन्त्री भट्टराईले बताए ।





























प्रतिक्रिया