अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए । कैलाली, कञ्चनपुर र बाग्लुङमा आरडिटी पद्धतीबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगायतमा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्यवस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए ।

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताए । सचिव विडारीले कोभिड १९ को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिए ।

बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समीक्षा भएको थियो । सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले बताए । त्यस्तै ३० हजार ५ सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले बताए । लकडाउनको अवस्थामा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले गराए ।

Skip This
Skip This
Logo