सिन्धुपाल्चोक ।
नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकास प्रवर्धन गर्ने उद्देश्यले ‘प्रथम सुकुटे महोत्सव–२०७६’ महोत्सव आयोजना हुने भएको छ । जिल्लाको सुकुटेसहितका महत्वपूर्ण पर्यटकीयस्थलको प्रचारप्रसार तथा जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित फागुन १७ देखि २० गतेसम्म महोत्सव गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सिन्धु पर्यटन व्यवसायी सङ्घको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा महोत्सव आयोजना गरिने भएको हो ।
नेपाल भ्रमण वर्षको सन्दर्भमा सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय ‘हव’को रूपमा विकास गर्न तथा जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताए ।
सुकुटे क्षेत्रका जलयात्रा, सुकुटे–ओख्रेनीसम्मको पदमार्गको प्रचार तथा स्थानीय उत्पादनको बजारीकरण र बिक्री वितरणको व्यवस्थापन गर्न पहल गरिने जनाइएको छ । तातोपानी नाका, भैरवकुण्ड र जुगल हिमाल जाने प्रवशेद्वारको रूपमा प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
राजधानी काठमाडौँबाट ६८ किलोमिटर दुरीको सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षण बन्दै गएको छ । यो क्षेत्रमा १० वटा होटल छन् । दैनिक दुई हजार ५०० पाहुना व्यवस्थापन गर्न सकिने सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष श्रेष्ठले बताए।
महोत्सवको अवधिमा २० हजार पर्यटक लैजाने आयोजकको दाबी छ । महोत्सवका लागि ३० लाख खर्च हुने र झण्डै पाँच करोडको कारोवार हुने जनाइएको छ । महोत्सवमा ५० वटा व्यावसायिक स्टल रहने छन् भने विभिन्न खेलकूद गतिविधि तथा सांस्कृतिक प्रस्तुति हुनेछन् । महोत्सवका क्रममा पहिलो पटक सुनकोशीमा ‘वाटर बोट’ शुरु गर्ने कार्यक्रम छ ।
रासस































प्रतिक्रिया