चितवनबाट खुशी हुँदै काठमाडौं फर्किइन् बेल्जियमकी राजकुमारी

चितवनबाट खुशी हुँदै काठमाडौं फर्किइन् बेल्जियमकी राजकुमारी

केन्द्रबिन्दु
0
Shares

चितवन ।
निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी एस्ट्रिड शुक्रबार काठमाडौँ फर्किएकी छिन् । फर्कनु अघि उनले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताको बारेमा वर्णन गरिन् ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा घुम्दा आफूले एक सिङ्गे गैँडासहित विभिन्न जनावर र थुप्रै प्रजातिका चराचुरुङ्गी देखेको भन्दै खुशी प्रकट गरिन् । आफूलाई स्वागतसहित राम्रो आतिथ्यता प्रदान गरेकोमा भरतपुर महानगरपालिका र प्रदेश सरकारप्रति पनि उनले आभार प्रकट गरिन् । उनलाई प्रदेशसभा सदस्य रिना गुरुङ, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित सरकारी अधिकारीले बिदाइ गरेका थिए ।

बुधबार साँझ चितवन राष्ट्रिय निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो ।

बिहीबार दिनभर उनले निकुञ्ज घुमिन् । राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आएकी हुन् । शनिबार उनी बेल्जियम फर्कने कार्यक्रम रहेको छ । उनी माघ ५ गते नेपाल आएकी हुन् ।
रासस

Logo