एक रुपैयाँमा पर्यटकलाई बास !

एक रुपैयाँमा पर्यटकलाई बास !


इलाम ।

सन् २०२० सँगै नेपाल भ्रमण वर्षको सुरुवातमा जिल्ला जिल्लामा फरक–फरक किसिमबाट पर्यटक तान्ने कार्यक्रम भएका छन् । कतै पर्यटकलाई खानाको पैसा छुट गरिएका छन् भने कतै बस्नको छुट गराएर यसको प्रचार गरिएको छ । कतै केही प्रतिशत मात्र छुट गराएर पनि पर्यटक तान्न होटलहरूले प्रयास गरिरहेका छन् ।

इलाममा भने नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन होटल एशोसिएसनले एक रुपयाँमा पर्यटकलाई बास बसाएको छ । एसोसिएसनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित ५ वटा होटलहरूले एक रुपैयाँमा पर्यटकहरूलाई बास बसाएका हुन् ।

२०१९ को अन्तिम दिन अर्थात सन् २०२० को शुभारम्भमा मंगलबार होटल बुक गर्न पुगेका पहिलो पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकहरूले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए ।

उनका अनुसार पहिलो पटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बसेका छन् । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बुधबार बेलुका र बिहीबार बिहानको खाना खुवाएको छ ।

होटल व्यवसायी संघ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजना अनुसार इलामको चियाबारी कटेजसहित ग्रीन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रीनसिटी गेस्ट हाउसमा पाँच जना पर्यटकलाई लक्की टुरिस्टका रूपमा लिँदै सो सुविधा प्रदान गरिएको थियो । उनलाई स्वागत सहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भाव दूतको रूपमा घोषणासमेत गरिएको छ ।

होटल व्यवसायी तथा चियावारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले बिदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । विदेशी पर्यटकहरूले समेत आश्चार्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । साथै भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौं चल्ने शुभेक्षा ट्राभल्सले जनवरी पहिलो दिनदेखि ७ दिनसम्म काठमाडौंबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ ।
कारोबारबाट

Logo