सन् २०२० लाई पर्यटन आधार वर्षको रूपमा विकास गरिने – मन्त्री भट्टराई

सन् २०२० लाई पर्यटन आधार वर्षको रूपमा विकास गरिने – मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

कठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन‍् २०२० लाई पर्यटन वर्षको रुपमा मात्र नभई पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजनासहित मनाउन लागिएको बताए ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरूसँग बिहीबार पर्यटन मन्त्रालयमा छलफल गर्दै अबको एक दशक पर्यटनको लागि जोड दिने बताए । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन् । उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरे । त्यस्तै उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरे ।

छलपलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए । उनले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई मन्त्रालयले अवैतानिक स्वयंसेवकको रुपमा क्रियाशील बनाउन सक्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रुपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सरकारलाई पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जोड दिन समेत सुझाव दिए ।

कार्यक्रममा मन्त्री भट्टराईले २०२० को जनवरी १ मा राजधानी सहित सातै प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारीक सुरुवात गर्न लागिएको समेत जानकारी दिए ।

Logo