काभ्रेमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा

काभ्रेमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

काभ्रे,
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताउनु भएको छ ।

बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताउनु भएको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “संसदीय समितिले गत वर्ष चासो नपरेको विषयमा चासो दिएर काभ्रेमा ‘बनाउनै पर्दैन’ भन्ने विवाद निकालेपछि रोकियो, यस वर्ष विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) बनाउन बजेट पनि छुट्याइएको छ, अब तत्काल डिपीआरको काम शुरु हुन्छ ।”

उहाँले डिपीआर तथा अन्य केही प्राविधिक कार्यका लागि २५ करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै हवाई उड्डयन प्राधिकरणका निर्देशकलाई छिटोछिटो डिपीआर बनाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो “प्राधिकरणका निर्देशक डिपीआर बनाउने विषयमा तयारी गर्दै हुनुहुन्छ, डिपीआर प्राविधिक विषय हो, मिल्ने भए बन्छ नभए बन्दैन ।” काठमाडौँबाट नजिक भएकाले काभ्रेलाई विमानस्थलका लागि पहिलो प्राथमिकता दिएको उहाँको तर्क थियो ।

मन्त्री बाँस्कोटाले काठमाडौँमा समयसमयमा हवाई ट्राफिक जाम भई समस्या सिर्जित भएकाले नजिकै एउटा विमानस्थल आवश्यक भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौंको नजिक काभ्रे भेटिएकाले डिपीआर गर्न लगाइएको हो, अन्तै नजिक भेटिए अन्तै लगे पनि हुन्छ, काभ्रे नै चाहिएको छ भनेका छैनौँ ।” उहाँले काभ्रेमा आन्तरिक विमानस्थल बन्दा यहाँका बासिन्दाले हवाइजहाज चढ्न काठमाडौँ जान नपरे पनि बाटोको विकाससँगै आर्थिक चहलपहल तथा रोजगारी सिर्जना हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले काभ्रेमा विमानस्थल बन्दा हिमाली उडानलाई समेत सजिलो हुने बताउनुभयो । “हामी काठमाडौंको नजिक विमानस्थल बनाउने विषयमा थाकेका छैनौँ, प्राविधिकका अनुसार सात अर्ब लाग्नेछ, बजेट अपुग भए थप्न पनि सकिन्छ”, उहाँले भन्नुभयो, “अब पनि संसदीय समितिले चासो दिने भए विचार पु¥याएर चासो देओस् ।”

Skip This
Skip This
Logo