हिउँ चितुवा सर्वेक्षण: डोल्पामा एक सय २० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षण: डोल्पामा एक सय २० हिउँ चितुवा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज सार्वजनिक गरिएको छ।

नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ। विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको सङ्ख्या यकिन गरेको छ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको यकिन हुन गएको छ।

यसैगरी, चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो।

यसर्थ डोल्पामा हिउँ चितुवाको कूल सङ्ख्या एक सय २० हुन गएको छ। जुन सङ्ख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ। हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो।

यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ।

नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ। यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन्।

Logo