पर्यटक बढेसंगै बागलुङका होटलमा थपिदै लगानी

पर्यटक बढेसंगै बागलुङका होटलमा थपिदै लगानी

केन्द्रबिन्दु
39
Shares

बागलुङ/पर्यटन क्षेत्रमा देखिएको आशाको किरणसँगै बागलुङका होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ ।

सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दुरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । नेपाल सरकारका पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्रि पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गरे ।

पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै ठुलो लगानीको पहिलो होटल हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले ३० करोड लगानीमा सञ्चालनमा ल्याएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको छ । झण्डै ६ महिनाअघि बजारमै सञ्चालनमा रहेका दुई होटलले सेवा बिस्तार गरे, लगानी बढाए ।

होटल रेड एप्पलले स्थानान्तरणपछि फराकिलो क्षेत्रमा आफ्ना सेवा सञ्चालनमा ल्याएको छभने होटल शितलले २ करोड लगानी थप गरेर सेवा थालेको छ ।

सदरमुकाममा रहेका होटल दि राजन, पिस प्यालेस, समिट धौलागिरी, होटल पर्व लगायतका होटल पनि आफ्ना सेवा बिस्तारमै छन् । अन्य होटल तथा रेष्टुँराले पनि पर्यटक लक्षित सेवालाई केन्द्रमा राखेका छन् । सदरमुकाम बाहिर घोडाबाँधेमा माउन्टेन भ्यु, गलकोटमा गलकोट स्क्वायर, बडिगाडमा एग्रो रिसोट, कुश्मीशेरामा साकुरा, बुर्तिबाङमा होटल दरबार र निसीको झिँवाखोलामा होटल लोकमार्ग पर्यटक लक्षित होटल हुन् ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बागलुङमा होटल व्यावसायमा लगानी बढाउदै लगिएको हो । बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्राहलय, तथा ढोरपाटन शिकार आरक्ष लगायतका प्रमुख पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्न आउने पर्यटकको चहलपहल बढ्न थालेपछि सुविधा सम्पन्न होटल तथा लजहरुको विस्तार हुने क्रम बढेको होटल सगुनका सञ्चालक सञ्जय श्रेष्ठ बताउँछन् ।

यहाँ पर्यटक आउनका लागि कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्गले सघाईरहेका छन् । ‘भएका होटल मात्रै यहाँ पर्यटक आउने क्रम बढ्दा पर्याप्त हुँदैनन्’ होटल व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने, ‘होटल व्यवसायमा लगानी बढ्नु जिल्लामात्रै होईन प्रदेशकै लागि सकरात्मक सन्देश हो।’

होटल क्षेत्रमा व्यवसायीले एक करोडदेखि ३० करोडसम्म लगानी गरेका छन् भने एक हजार भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । पाहुनाको आगमनले रौनकता छाएको र होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको होटल शिलतका संचालक तालबहादुर कुँवर बताउँछन् । ‘यहाँ सम्भावना धेरै छन्, राज्यले लगानी सुरक्षा गरिदिने हो भने लगानीकर्ता तयार हुन्छन्’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेल भन्छन्, “लगानी आकर्षण गर्ने काम राज्यको हो, नीजि क्षेत्रलाई हेर्ने नजर स्थानीयदेखि केन्द्र सरकारसम्म फेरिनुपर्छ ।’

व्यवसायीहरुले पाहुलनालाई आर्कषण गर्न बिभिन्न पर्यटकीय प्याकेज समेत ल्याउन थालेका छन् । बिभिन्न क्षेत्रको अवलोकनपछि एक दिन बसोबास गर्ने गरि सुविधा सम्पन्न होटल पाउन थालेपछि आन्तरिक पर्यटकलाई सहज बनेको छ । पर्यटकको आगमन बढेसँगै होटलको आम्दानी पनि बढेको छ । होटल भरिँदाका दिन एउटै होटलले ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको होटल पर्वका म्यानेजर राम पराजुली बताउँछन् ।

बागलुङका पर्यटकीय क्षेत्र घुम्नका लागि देशभरीबाट बिभिन्न विद्यालय, समुह र सहकारी तथा व्यक्ती र परिवार मिलेर आउनेहरुको लर्को छ । मुस्ताङ पुगेर फर्किने, म्याग्दीको तातोपानी कुण्ड पुग्ने पर्यटकको समेत बासस्थान भएकाले दैनिक ३ सयदेखि ५ सय पर्यटक जिल्ला भित्रिने गरेको होटल अन्नपूर्णका सञ्चालक ढोलराज पौडेल बताउँछन् ।

Skip This
Skip This
Logo