निर्मल पौडेल, पर्वत । नेपालीहरूको महान् चाड दशैँ नजिकिए सँगै पर्वत सदरमुकाम कुश्मा बजारमा सामान किन्ने मानिसहरू र घुम्न आउनेहरुको चहलपहल बढेको छ ।
कुश्मा बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड सँगै बञ्जी र पुल झोलुङ्गे लगायतका स्थानमा चहलपहल बढेको हो। अहिले कुश्मा बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं पोखरा चितवन लगायतका सहरहरूमा कामको सिलसिलामा बसेकाहरू र प्रदेशीयका लाहुरेहरु दशैँ मान्न घर फर्कने क्रम बढे सँगै बजार केन्द्रमा चाप बढेको हो ।
अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको हो। कुस्मा बजारमा किनमेल गर्न आसपासका गाउँबाट मानिसहरु आउने गर्दछन् । जिल्लाको सबैभन्दा ठुलो बजार नै कुश्मा भएकोले जिल्लाका बिभिन्न ठाउँहरुमा यहाँ बाट सामान लैजाने गरेको पर्वत उद्दोग बाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल बताउँछन् । पछिल्लो समय कुस्मा बजार पर्यटकको हव बन्दै गएको र आन्तरिक तथा बाह्य पर्यटकहरु आउने भएकोले पनि बजार क्षेत्रमा चहलपहल हुने गरेको पौडेलको भनाई छ ।
अघिल्लो वर्षको दशैँमा भन्दा यसपालिको दशैँमा ग्राहकहरु बढेको धनेश्वर चोकमा रहेको धनेश्वर सपिङ सेन्टरका युवा व्यावसायी नवराज गिरीले बताए। ब्राण्डेड र फेशनेवल फेन्सी आईटमहरु अन्य पसलहरुमा भन्दा सर्वसुलभ मुल्यमा दिने गरेकोले पनि भ्याइनभ्याई भएको उनको बुझाई छ ।
यती मात्र हैन बाग्लुङ बजार र बेनी बजारमा भन्दा कुस्मा बजारमा सर्वशुलभ सामान पाईने भन्दै म्याग्दी र बाग्लुङका स्थानिय समेत कुस्मा बजार आउने गरेकोले बजारमा चहलपहल बढेको न्यू पर्वत फेशन हाउस शिवालय चोकका युवा व्यावसायी अर्जुन निर्जन पौडेलले बताए। पौडेलले भने व्यापार राम्रै छ, जिल्लाका मात्र होइन अन्य जिल्ला बाट समेत फेशन हाउसमा ग्राहकहरु आउने गरेका छन्, सन्तोष मान्नुपर्छ ।
स्टोर्सहरुमा पनि व्यापार उत्तिकै छ । रेग्मी स्टोर्स बडागाउँका राजन रेग्मीले बजारमा व्यापार बढेको सुनाउँछन् । उनले भने अन्य बेला भन्दा यो बेला अल्ली व्यापार छ ।
होटल तथा खाजाघरहरुमा पनि यतिबेलामा पनि उत्तिकै मात्रामा चहलपहल देखिन्छ । बञ्जीसाईमा रहेको नेवारी खाजा घरमा ग्राहकहरुको स्वाद अनुसारका लागि विशेष आइटमहरु यतिबेला पु-याउन भ्याइनभ्याइ भएको अच्युत श्रेष्ठ बताउछन् ।
यस्तै कुस्माका अग्ला र लामा झोलुङ्गे पुलहरु र विश्वकै दोस्रो अग्लो ठूलो बञ्जी जम्पमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरु उल्लेख्य मात्रमा आएको द क्लिफ बञ्जीका अध्यक्ष राजु कार्कीले बताए । उनले भने अन्य समयमा भन्दा दशैँको बेला बञ्जी जम्प गर्न आउने पर्यटकहरु धेरै छन् ।
अहिले दैनिक ५० देखी ६० जनाले बञ्जी गर्ने गरेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार यो समयमा बञ्जी गर्न आउनेहरु विदेशी भन्दा पनि आन्तरिक बढी रहेका छन् । जेनजी आन्दोलनले केही मात्रामा प्रभाव पारेपनी दशैँ लागेसँगै बञ्जी गर्नेहरुको सङ्ख्यामा वृद्धी भएको उनको भनाई छ ।
बञ्जी र विश्वकै अग्लो स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन्। यीनिहरुमा पनि पर्यटकहरुको चाप बढ्दो रहेको कार्कीले बताए। उनै कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ। यही बञ्जी र स्वीङ पर्यटकका मुख्य गन्तव्य बनेका छन् । यसले पनि कुस्माको पर्यटन र व्यापार व्यावसायमा ठूलो भुमिका खेलेको छ ।
यस्तै दशैँको बेलामा शताब्दी घरमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य रहेको कुश्मा कला परियोजनाका अध्यक्ष आर के अदिप्त गिरीले बताए । विशेष गरी चाडपर्वहरुमा शताब्दी घरमा अत्याधिक मात्रमा मानिसहरु अवलोकन सँगै फोटा खिच्न र टिकटक बनाउने आउने गरेको गिरीको भनाई छ । शताव्दी घरमा मुक्तिनाथ,पञ्चकोट र बाग्लुङ कालिका दर्शन गरेर फर्किनेहरु लगायत कुस्मामा भित्रिने पर्यटकहरु एकपटक अवलोकन नगरी नजाने गरेको उनले बताए ।





























प्रतिक्रिया