नवलपुर। नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यस क्षेत्रका धार्मिक–पर्यटकीय गन्तव्यलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।
आइतबार साँझ विधिवत् उद्घाटनसँगै ‘राइनो क्रुज’ले नियमित सेवा सुरु गरेको हो । नवलपुर र आसपासका क्षेत्रलाई दिगो र सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्य बनाउने योजनासहित क्रुज सञ्चालनमा ल्याइएको जनाइएको छ ।
उद्घाटन समारोहमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि आवश्यक सहयोग पालिकाले गर्ने बताए । क्रुजले स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा दिने उल्लेख गर्दै उनले देवघाटधामसम्म मात्र नभई त्रिवेणीधामसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
नारायणी नदीमा क्रुज सञ्चालनका क्रममा देखिएका अवरोध हटाई नदीलाई गहिरो बनाउने कार्यमा पालिकाले सहयोग गर्ने पनि उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा होटल रिभर क्राउनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जल पर्यटनसँगै होटल व्यवसायलाई जोड्न राइनो क्रुज र होटलबीच सहकार्य भएको जानकारी दिए । क्रुज सञ्चालनले गैँडाकोट, नवलपुर मात्र नभई समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
होटल व्यवसायी प्रभाकर पण्डितले क्रुज सञ्चालनसँगै नवलपुर, चितवन तथा देशकै पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको बताए । नेपालकै पहिलो क्रुज नारायणी नदीमा सञ्चालनमा आएकाले पर्यटकीय गतिविधि वृद्धि हुने विश्वास व्यक्त गरे ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालि तथा होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति प्राप्त भएको जानकारी दिए । साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको छ । पूर्ण क्षमता २०० जना भए पनि हाल १५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको जनाइएको छ ।
क्रुज पूर्ण रूपमा सुरक्षित रहेको र यातायातभन्दा पनि मनोरञ्जनात्मक जलयात्राका लागि सञ्चालनमा ल्याइएको ढुङ्गेलले बताए । सामान्यतया एक घण्टासम्मको क्रुजिङ हुने भए पनि कार्यक्रम तथा प्याकेजअनुसार समय घटबढ गर्न सकिने जानकारी दिइयो ।
ब्रेकफास्ट, लन्च र डिनर क्रुजिङसँगै विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव लगायत विशेष कार्यक्रमका लागि प्याकेज उपलब्ध गराइएको छ । साधारण टिकट शुल्क ५०० रुपैयाँ, ब्रेकफास्ट क्रुजिङ १,५०० रुपैयाँ, लन्च क्रुजिङ २,००० रुपैयाँ र डिनर क्रुजिङ ३,००० रुपैयाँ तोकिएको छ ।
प्रति यात्रु १० लाख रुपैयाँ बराबरको बीमा गरिएको क्रुजले गैँडाकोट र नारायणी नदी किनारलाई दक्षिण एसियाकै नमूना नदी पर्यटन गन्तव्य बनाउने लक्ष्य लिएको जनाएको छ । होटल र क्रुजमा गरी करिब ५० करोड रुपैयाँ लगानी भइसकेको र समयअनुसार लगानी थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको ढुङ्गेलले बताए ।
क्रुज वर्षभर सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ठूलो हावा र पानीको बहावमा पनि यात्रा गर्न सक्ने क्षमतायुक्त क्रुजले देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, सौराहा र लुम्बिनीलाई एउटै पर्यटकीय करिडोरमा जोड्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट–नवलपरासीका वरिष्ठ उपाध्यक्ष छवि कँडेल, होटल व्यवसायी सङ्घ मुकुन्दपुर मौलाकालिका क्षेत्रका अध्यक्ष शिव पौडेल लगायतले क्रुजले जिल्लालाई पर्यटकीय हबको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
क्रुजका सञ्चालक सदस्य बद्रिप्रसाद अधिकारीले स्थानीय उत्पादनको खपत बढ्नुका साथै रोजगारी सिर्जना हुने बताए । क्रुज र होटलमार्फत प्रत्यक्ष रूपमा ५० जनालाई रोजगारी प्रदान गरिएको जनाइएको छ ।































प्रतिक्रिया