झापा। मेचीनगर–१० धुलाबारीमा निर्माण गरिएको ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पूर्व–पश्चिम राजमार्गको धुलाबारी मोडबाट करिब डेढ किलोमिटर उत्तर लीलाबस्तीमा १३ करोड रुपैयाँ लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धाम निर्माण गरेको हो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले आफ्ना स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क उपलब्ध गराएको पाँच कट्ठा जग्गामा धामको संरचना निर्माण गरिएको छ।
धामकी सञ्चालिका तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार यहाँ ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता ब्रह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन्।
राजयोग र ध्यानमार्फत मानसिक तनाव न्यूनीकरण तथा आध्यात्मिक ज्ञानका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धाम निर्माण गरिएको जनाइएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयका संरचनाको प्रतिकृतिसमेत यहाँ समावेश गरिएको छ, जसले नेपाल र भारतका आध्यात्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा. राज दिदीले हालै धामको अवलोकन गरेका छन्।
जग्गादातामध्येका एक विश्वप्रकाश शर्माले मातापिताको स्मृतिलाई निरन्तरता दिन र शान्ति प्रवद्र्धनको उद्देश्यले परिवारले जग्गा उपलब्ध गराएको बताएका छन्।































प्रतिक्रिया