सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

केन्द्रबिन्दु
24
Shares

गलकोट। साँझ घरधन्दा सकेर आराम गर्ने बेला बागलुङको भकुण्डे घरबासका सञ्चालकहरूले पाहुनालाई स्वागत र सत्कारमा व्यस्त हुन्छन्। गाउँघरको जीवन, खेतीपाती र स्थानीय संस्कृतिसँग जोडिएको घरबासमा पाहुनालाई स्वागत गर्न फूल, खाना र विभिन्न परिकारको व्यवस्था गरिएको छ।

अमेरिकामा लामो समय बस्दै आएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबासमा पुगेकी थिइन्। उनलाई स्वागतका लागि सयपत्री फूलको माला लगाएर स्वागत गरिएको र भोलिपल्ट लालीगुराँसको फूल दिइएको अनुभवले मोहित बनाएको उनले बताइन्। “गाउँघरको रमाइलो वातावरण, सूर्योदय, अग्र्यानिक खाना र फूलमालाले यहाँको अनुभव यादगार बनायो,” उनी भन्छिन्।

भकुण्डे घरबासमा स्थानीय समुदायले पाहुनालाई आकर्षित गर्न लालीगुराँसको फूल प्रयोग गर्ने चलन बनाएको छ। वनमा फुलेका लालीगुराँसको फूल टिपेर पाहुनालाई स्वागत गर्ने गरिएको छ।

सञ्चालक अप्सरा थापाका अनुसार सुरुमा पाहुनालाई कसरी स्वागत गर्ने भन्ने अनुभव थिएन, तर तालिमपछि व्यवस्थापनमा सुधार आएको छ। पाहुनालाई आकर्षित गर्न भकुण्डेमा जनजाति संग्रहालय पनि स्थापना गरिएको छ।

चारतले बनेको दृश्यावलोकन स्तम्भ, सूर्योदय हेर्न सकिने ठाउँ र स्थानीय परिकारले पर्यटकलाई मनोहर अनुभव दिएको छ। स्थानीय खाना जस्तै मूला, आलु, सिन्की, कोदोको रक्सी, मकै, भटमास आदिले पर्यटकको रुचि बढाएको छ।

हाल नौ घरमा घरबास सञ्चालन भइरहेको छ। भकुण्डेमा इटाली, न्यूजील्याण्ड, जापान, अष्ट्रेलिया, कोरिया लगायतका देशका पर्यटक पनि आउने गरेका छन्। भकुण्डेको मगर कला, संस्कृति र हिमशङ्खलाले यहाँको पर्यटनलाई पहिचान दिएको छ।

नगर पर्यटन विकास समितिका अनुसार, भकुण्डे घरबास र आसपासका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयास भइरहेको छ।

Logo