चितवन। चितवन राष्ट्रिय निकुञ्जले गर्मी याममा वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्ज क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि जनावरका लागि पानीको स्रोत उपलब्ध गराउन तथा बासस्थान व्यवस्थापन गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण गरिनेछ भने चार वटा पुराना पोखरी मर्मत गरिने योजना छ। वन्यजन्तुको आवागमन र बासस्थानलाई ध्यानमा राख्दै आवश्यक स्थानमा पोखरी निर्माण तथा मर्मतको काम अघि बढाइएको उनले बताए।
निकुञ्जभित्र हाल ५६ वटा पोखरी तथा तालतलैया रहेका छन्। सबै ठाउँमा एकैपटक सरसफाइ र मर्मत सम्भव नभए पनि महत्वपूर्ण स्थानमा रहेका जलस्रोतलाई प्राथमिकतामा राखेर काम गरिँदै आएको निकुञ्जको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल र हात्तीलगायत वन्यजन्तुको प्रमुख बासस्थान हो। गर्मी बढ्दै जाँदा पानीको आवश्यकता बढ्ने भएकाले पोखरी निर्माणले जनावरलाई निकुञ्जभित्रै पानी उपलब्ध गराउन मद्दत पुग्ने र उनीहरू पानीको खोजीमा बस्ती क्षेत्रमा पुग्ने सम्भावना पनि कम हुने अपेक्षा गरिएको छ।
निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित रूपमा डढेलो लगाउने कार्यसमेत सुरु गरेको जनाएको छ। करिब ९५२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसेमैदान क्षेत्रलाई व्यवस्थापन गर्दै वन्यजन्तुको बासस्थान संरक्षणमा निकुञ्जले काम गरिरहेको छ।































प्रतिक्रिया