धार्मिक महत्वको लुङबुक गुफा

धार्मिक महत्वको लुङबुक गुफा

केन्द्रबिन्दु
12
Shares

मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरूपी पहाड छ। त्यही पहाडको तल्लो भागमा रहेको गुफालाई लुङबुक गुफा भनिन्छ।

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ। बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूर्ण रूपमा परिवर्तन हुन्छ। प्रायः मङ्सिरदेखि चैत महिनासम्म गुफा हिउँको घुम्टोभित्र लुकेको हुन्छ। पुस र माघ महिनामा अवलोकन गर्न जाँदा गुफाको अधिकांश भाग हिउँले ढाकिएको देखिन्छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लुङबुक गुफा जाडोयाममा विशाल पहाडको उचाइदेखि फेदसम्म सेताम्मे हिउँका ढिस्काले ढाकिन्छ। जाडोयाममा यहाँ खासै पर्यटक नपुग्ने भएकाले गुफाको वास्तविक स्वरूप र हिउँदयामको प्राकृतिक सौन्दर्यबारे धेरैजसो पर्यटक बेखबर रहने गरेका छन्।

लुङबुक गुफालाई पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिक स्थलका रूपमा लिने गरिन्छ। तिब्बत जाने क्रममा पद्मसम्भवले यस गुफामा बसेर ध्यान साधना गरेको धार्मिक किंवदन्ती छ। लुङबुक गुफालाई फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिक स्थलका रूपमा लिने गरेका छन्।

हिउँदयाममा हिउँको घुम्टोभित्र लुकेको लुङबुक गुफा अवलोकनका लागि पछिल्लो समय पर्यटक पुग्ने गरेका छन्। बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य अवलोकन गर्न पर्यटक त्यहाँ जाने गरेका छन्। गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको दृश्यको तस्बिर खिच्ने उद्देश्यले पनि जाडोयाममा केही बढी पर्यटक पुग्ने गरेका छन्।

हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरूपमा फर्किन्छ। गुफाभित्र सानो चट्टानको प्वालबाट मुन्टो निहुराएर मात्र प्रवेश गर्न सकिन्छ। जाडोयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन। चैत–वैशाखदेखि कात्तिकसम्म हिउँ पग्लिने समयमा गुफाभित्र प्रवेश गर्न सकिन्छ।

बुद्ध धर्म र पद्मसम्भवसँग जोडिएको भएकाले गुफाको धार्मिक महत्व उच्च मानिन्छ। यसको प्रचारप्रसार हुन सके पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने सम्भावना देखिएको छ। लुङबुक गुफा बुद्ध धर्मअन्तर्गत निङमापा सम्प्रदायसँग जोडिएको मानिन्छ।

गुफामा पुगेर धार्मिक अनुष्ठान गरे मोक्ष प्राप्ति हुने विश्वास स्थानीयमा छ। गुफाभित्र प्राकृतिक रूपमा बनेका धार्मिक आकृतिहरू देखिन्छन्। गुफाभित्र पद्मसम्भवका ससाना प्रतिमा पनि देख्न सकिन्छ। सन्तान नभएकाले यहाँ दर्शन गरे सन्तान प्राप्ति हुने धार्मिक जनविश्वाससमेत रहेको छ।

जोमसोम–कोरला मुख्य राजमार्गदेखि करिब २० मिनेट सवारीसाधन र ४५ मिनेट पैदल यात्रा गरेपछि लुङबुक गुफा पुग्न सकिन्छ। गुफाको संरक्षण तथा भक्तजनका लागि बसोबास र खाना पकाउने व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेका छन्। गुफासम्म पुग्ने गोरेटो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको हो।

Logo