धार्मिक पर्यटनको केन्द्र बन्दै भोटेपोखरीको ‘कण्ठदेवी मन्दिर’

धार्मिक पर्यटनको केन्द्र बन्दै भोटेपोखरीको ‘कण्ठदेवी मन्दिर’

केन्द्रबिन्दु
6
Shares

गण्डकी। कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिर धार्मिक महत्त्वका साथै ऐतिहासिक महत्त्व पनि बोकेको छ ।

मन्दिर स्थापनाको मिति यकिन नभए पनि प्राप्त किंवदन्ती र प्रमाणका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने अनुमान गरिएको अनुसन्धाता डा. अशोक थापाले बताए । थापाका अनुसार कण्ठदेवी मन्दिरको इतिहास राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । विसं १९१३ साउन २४ गते तत्कालीन श्री ५ सुरेन्द्र वीरविक्रम शाहले दरबारबाट ऐतिहासिक घोषणामार्फत जङ्गबहादुरलाई कास्की र लमजुङ राज्यका श्री ३ महाराज पद दिएका थिए । उक्त घोषणासँगै जङ्गबहादुर ‘श्री ३ जङ्गबहादुर कुँवर राणाजी’का रूपमा चिनिएका थिए ।

आफ्ना बुबाले सुनाएको कथा उद्धृत गर्दै थापाले जङ्गबहादुर तत्कालीन समयमा स्याङ्जा–नुवाकोट राज्यतर्फको यात्रामा यस क्षेत्र हुँदै भोटेपोखरी उक्लने गरेको उल्लेख गरे । यात्राका क्रममा उनी मन्दिर नजिकको ढुङ्गाको अग्लो छेउमा घोडा बाँधेर निगालोको घाँस खुवाएर आराम गराउँथे र कण्ठदेवीको दर्शन गरेर भर्तीपोखरा, कृस्ती हुँदै मट्टिखानको बाटो भएर स्याङ्जा–नुवाकोटतर्फ जाने गरेको उल्लेख छ ।

मन्दिरको नाम ‘कण्ठदेवी’ रहनुको विषयमा विभिन्न तथ्यहरू पाइने थापाले बताए । अनुसन्धानका क्रममा इतिहासविद् डा. जगमान गुरुङसँग पनि यस विषयमा जानकारी लिइएको थियो । शिव पुराणअनुसार नीलकण्ठ महादेवले समुद्र मन्थनको विष पिएर ब्रह्माण्डको रक्षा गरेका थिए । नीलो गलाको प्रतीक बनेका महादेवको कण्ठको स्मरण स्वरूप देवी पार्वतीको रूपलाई ‘कण्ठदेवी’ भनिएको हुनसक्ने तर्क इतिहासविद् गुरुङको रहेको थापाले बताए ।

अर्को तर्क अनुसार ‘कण्ठ’ स्वरको प्रतीक पनि हो र स्वरकी देवी सरस्वती हुन् । भोटेपोखरीमा ऐतिहासिक विद्यालय स्थापना हुनुअघि नै यो मन्दिर रहेको र विद्यालय नजिकै रहेकाले विद्याकी देवीसँग जोडिएर दुर्गा र सरस्वती शक्तिको रूप तथा ज्ञानको प्रतीकका रूपमा यसको नाम कण्ठदेवी रहेको हुनसक्ने गुरुङको भनाइ छ ।

इतिहासको साक्षीका रूपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । कण्ठदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष दीपविक्रम चन्दका अनुसार पछिल्ला वर्षहरूमा संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको छ । लाखु छहरा ठूलो बन खहरे खरबारी उपभोक्ता समितिमार्फत संरक्षणका काम भइरहेका छन् ।

मन्दिर परिसरमा काली नाग, सेती नाग, भयँर, अयँर, देउराली देवी, भैरव, श्रीकृष्ण आदिका शिला र थान रहेका छन् । यी संरचनाले यहाँको धार्मिक महत्त्वलाई अझ उजागर गरेको स्थानीयवासीको भनाइ छ । विभिन्न तिथिमिति र चाडपर्वमा स्थानीयले कण्ठदेवीको पूजाआजा गर्दै आएका छन् ।

यस मन्दिरको दर्शन गरेमा मनले चिताएको पूरा हुने विश्वासका कारण यसको महिमा र गरिमा अझ बढ्दै गएको स्थानीयवासीको तर्क छ । मनोरम भूभागमा रहेको यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणका काम अघि बढाइएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा हनुमान पोखरीदेखि माथि जाने केही भागमा सिँढी बाटो निर्माण भइसकेको छ । मन्दिर परिसरमै खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बाँस्केटबल कोर्ट पनि निर्माण गरिएको छ ।

तल्लो गगनगौडा निवासी मुकुन्द घिमिरेका अनुसार कण्ठदेवी मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गरेर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । पोखरा–३० को पावरहाउस क्षेत्रबाट कण्ठदेवी मन्दिरलाई समेट्दै एकदिवसीय हाइकिङ मार्ग विकास गर्न सकिने सम्भावना रहेको उनले बताए ।

पावरहाउसबाट हाइकिङ सुरु गरेर तिक्लाङको सुन गुफा अवलोकन गर्दै खैरेनी, हनुमान पोखरी हुँदै कण्ठदेवी मन्दिर पुग्न सकिने घिमिरेले बताए । उत्तरी हिमाली दृश्य अवलोकन गर्दै हिँड्न सकिने यो गन्तव्य एकदिवसीय हाइकिङका लागि उपयुक्त मानिन्छ । कण्ठदेवी मन्दिरबाट माथि रहेको हुडिकोटसम्म पनि हाइकिङ गरेर पुग्न सकिने उनले बताए ।

Logo