गण्डकी। पोखरा गुफाहरूको सहरका रूपमा चिनिँदै आएको छ। महेन्द्र, चमेरे र गुप्तेश्वर महादेव गुफापछि पोखरा–३३ भरतपोखरीको तिक्लाङस्थित ‘सुन गुफा’ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ।
करिब डेढ किलोमिटर लामो अनुमान गरिएको गुफा तिक्लाङ खेलमैदानदेखि सेती नदीतर्फको चुने पहरोसम्म फैलिएको छ। स्थानीयवासीले लामो समयदेखि गुफाबारे जानकारी राखे पनि पछिल्ला वर्षमा मात्र यसको पर्यटकीय उपयोगतर्फ चासो बढेको हो।
गुफाको संरक्षण र प्रवर्द्धनका लागि २०७६ सालमा समिति गठन भई काम भइरहेको छ। हालसम्म संघीय र स्थानीय बजेटबाट करिब ५० लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण गरिएको छ। प्रवेशद्वार व्यवस्थापन, सिँढी निर्माण, कार्यालय भवन र परिसर सुधारका काम सम्पन्न भइसकेका छन्।
गुफाभित्र प्राकृतिक आकृति र ठूलो संख्यामा रहेका चमेरा मुख्य आकर्षण मानिन्छ। करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको गुफा क्षेत्रलाई समेटेर समग्र पर्यटन विकास गर्ने योजना बनाइएको छ।
पर्यटकका लागि औपचारिक रूपमा खुला गर्न बिजुली, शौचालयलगायत आधारभूत पूर्वाधार निर्माणको काम अघि बढाइएको छ। यो क्षेत्र प्राचीनकालदेखि धार्मिक महत्वसमेत बोकेको मानिन्छ।
पृथ्वीराजमार्गअन्तर्गत पावरहाउसबाट करिब १० मिनेटको पैदल दूरीमा पुग्न सकिने गुफा पोखरा बजारबाट सार्वजनिक यातायातमार्फत सहज पहुँचमा छ। तिक्लाङ क्षेत्र पछिल्लो समय कृषि पर्यटनका लागि पनि परिचित बन्दै गएको छ।
स्थानीयका अनुसार गुफा विकाससँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने, बसाइँ लम्बिने र रोजगारी तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया