ढोरपाटन। नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । सञ्चारमाध्यमका नयाँ आयामलाई स्वीकार गर्दै सञ्चारसंस्था र पत्रकारलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखन/उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
समय र प्रविधिको गतिअनुसार पत्रकारिता, विशेषगरी डिजिटल सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको यथोचित उपयोग गर्दै त्यसबाट आयआर्जन गरी जीवनस्तरमा टेवा पुग्ने नीति तथा कार्यक्रम बनाउन र कार्यान्वयन गर्न तीनै तहका सरकारसँग घोषणापत्रमार्फत माग गरिएको छ ।
कोरलानाका नियमित सञ्चालन गरी गण्डकी प्रदेशबाट निर्यात बढाउन र आर्थिक समृद्धिमा योगदान पुर्याउन सञ्चारमाध्यमले यो विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ ।
बागलुङभित्र र बाहिर विभिन्न क्षेत्रमा सफल व्यक्तित्वलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वान गरिएको छ । साथै यस्ता प्रेरणादायी कथाहरूको प्रवर्द्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ ।
सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सङ्घीय सरकारको निर्णय सङ्घीयता, खुला अर्थनीति र प्रेस स्वतन्त्रताको भावना विपरीत भएको भन्दै यसको विरोध गरिएको छ । साथै स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सवलीकरणका लागि स्थानीय तहस्तरमा प्रभावकारी सञ्चार नीति आवश्यक रहेकोमा जोड दिइएको छ ।





























प्रतिक्रिया