इलाम। इलामको चुलाचुली गाउँपालिका–२ मा रहेको तीनकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र सहज पहुँचका कारण यहाँ घुम्न, फोटो–भिडियो बनाउन तथा वनभोज गर्न आउनेको संख्या बढेको छ।
स्थानीयस्तरमा गरिएको पूर्वाधार विकासले पोखरीको आकर्षण अझ बढाएको हो। विशेषगरी शनिबार र सार्वजनिक बिदामा यहाँ पर्यटकको उल्लेख्य भीड देखिने गरेको छ।
यसैबीच, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ सुरु भएको छ। वैशाख १ गतेसम्म चल्ने महोत्सव तीनकुने पोखरी सिमसार क्षेत्रको आयोजनामा सञ्चालन भइरहेको छ।
‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ नारासहितको महोत्सवमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुति राखिएको छ। च्याब्रुङ, साकेला, लाखे, सेलो, मारुनीलगायत नाच तथा परम्परागत भेषभूषा प्रदर्शन गरिँदैछ। साथै स्थानीय कला, हस्तकला र रैथाने खानाका परिकार पनि प्रदर्शनीमा समावेश छन्।
महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानलगायत कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरणीय र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय पहलमा निर्माण गरिएको यो पोखरी पूर्व–पश्चिम राजमार्गबाट करिब साढे पाँच किलोमिटर उत्तरमा पर्छ, जहाँ विभिन्न सवारीसाधनमार्फत सजिलै पुग्न सकिने स्थानिय टिङ्कु भट्टराईले बताईन् ।





























प्रतिक्रिया