भक्तपुर। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लैजाँदै र भैरवनाथको रथ (भैलख) तानातान गर्दै जात्राको सुरुआत गरिन्छ। अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा रहनेछ। काठबाट बनेको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताललाई राखेर थने (माथिल्लो टोल) र क्वने (तल्लो टोल) तर्फ तान्ने परम्परा छ। पहिलो दिन दुवै टोलका बासिन्दाले आ–आफ्नो दिशातर्फ रथ तान्ने गर्छन्।
जात्राको मुख्य आकर्षण भैलखः तानातान हो। तानेर दत्तात्रय र तेखापुखुसम्म लैजाने र अन्त्यमा गःहिटीमा फर्काएर पहिलो दिनको जात्रा सकिन्छ। चौथो दिन ५५ हात लामो यसींद्योः (लिङ्गो) भेलुखेलमा उभ्याइन्छ, जुन जात्राको अर्को प्रमुख आकर्षण हो। यसलाई पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतसँग जोडिन्छ।
नयाँ वर्ष वैशाख १ गते भैरव, भद्रकाली, बेताल र यसींद्योःको पूजा गरिन्छ र साँझ यसींद्योः ढालिन्छ। त्यसपछि भैरव र भद्रकालीको रथ जुधाएर सङ्गम जात्रा मनाइन्छ। अन्य दिनहरूमा महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी, बटुकभैरव, गणेश लगायत देवदेवीका विभिन्न जात्रा गरिन्छन्। अन्तिम दिन पुनः रथ तानातान गर्दै जात्रा समापन गरिन्छ।
जात्राका क्रममा झडप हुन सक्ने भएकाले यस वर्ष दिउँसोमै रथ तान्ने व्यवस्था गरिएको छ। सुरक्षा व्यवस्थाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् र विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। अनियन्त्रित भीड, हुलदङ्गा र दुर्घटना रोक्न रथमा सीमित व्यक्तिलाई मात्र चढ्न दिने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ।































प्रतिक्रिया