पोखरा। पोखरा लेकसाइड क्षेत्रमा पर्यटक लक्षित सुरक्षा व्यवस्थालाई कडा पार्दै प्रहरीले अनुगमन अभियान तीव्र बनाएको छ । सोही क्रममा १६ जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय लेकसाइड क्षेत्रमा रातिको समयमा पर्यटकहरूलाई अनावश्यक रूपमा पछ्याउने, विभिन्न प्रस्ताव वा प्रलोभन देखाउने तथा असहज परिस्थिति सिर्जना हुने गुनासो बढेपछि नियमित गस्ती र निगरानी बढाइएको हो ।
स्थानीय व्यवसायी र पर्यटकहरूबाट समेत सुरक्षा अवस्था कमजोर भएको भन्दै गुनासो आएपछि प्रहरीले शंकास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले पर्यटकमैत्री वातावरण कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि रोक्न नियमित चेकिङ र निगरानीलाई थप कडा बनाइने जनाएको छ । लेकसाइड क्षेत्र पोखराको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको छवि र सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।





























प्रतिक्रिया