काठमाडौँ । पर्यटक अभावका कारण मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीमा सञ्चालन गरिएको होमस्टे बन्द भएको छ । वनकरिया समुदायको आर्थिक अवस्था सुधार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७७ सालमा निर्माण गरिएको होमस्टे पछिल्लो समय आगन्तुक घट्दै गएपछि सञ्चालनमा रहन सकेन । सुरुका वर्षहरूमा विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक पर्यटकको राम्रो आवागमन भए पनि पछिल्ला दुई वर्षदेखि आगमन लगभग ठप्प भएपछि संरचना जीर्ण बन्दै गएको र सञ्चालन असम्भव भएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार होमस्टे निर्माणमा लगानी भए पनि त्यसको प्रवर्द्धन र दीगो व्यवस्थापनमा ध्यान नदिँदा यस्तो अवस्था आएको हो । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भएपछि मर्मतसम्भार खर्च धान्न नसकिने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन् । अहिले बाँस र परालबाट बनाइएको संरचना बिग्रिँदै गएको छ र बस्न लायक अवस्थामा छैन । स्थानीय जनप्रतिनिधिले पनि योजना निर्माण भए पनि दीगो सञ्चालनको रणनीति नबनाइएकाले होमस्टे बन्द हुन पुगेको स्वीकार गरेका छन् ।
वनकरिया समुदाय, जसलाई २०६२ सालमा जङ्गल जीवनबाट बस्तीमा सारिएको थियो, हाल सीमित जनसंख्यामा त्यहीँ बसोबास गर्दै आएको छ । पर्यटनमार्फत आयआर्जनको आशा गरिएको भए पनि व्यवस्थापनको अभाव र पर्यटक घट्दो क्रमले उक्त पहल अहिले संकटमा परेको छ । स्थानीयले उचित प्रचारप्रसार र योजनाबद्ध कार्यक्रम ल्याउन सके होमस्टे पुनः सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।































प्रतिक्रिया