म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ ।
संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
“पहुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो”,उने भने, “धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो ।”
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा धवलागिरिको फेदीमा रहेको मुदीमा दिवस मनाउन लागिएको हो ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य अनुसार धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त पनि मानिन्छ । यहाँको भूबनोट र हावापानी अनौठो किसिमको छ । आधाआधा घण्टामा मौसम बदलिइरहने भएकाले धवलागिरि आरोहणलाई पर्वतारोहण क्षेत्रमा साहसिक मानिने उनले बताए ।
धवलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कुल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धवलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा राउतले बताए ।
अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेखअनुुसार ६६ वर्षको अवधिमा सात सय जनाभन्दा बढीले धवलागिरि हिमाल आरोहण गरेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमाललाई पर्यटकीय रूपमा अपेक्षित उपयोग हुन नसकेकोप्रति सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए । यस हिमालमा आरोहणसहित धवलागिरि चक्रीय पदमार्गको पदयात्रामा आकर्षण बढाउनुपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया