सगरमाथामा एकै दिन २७० भन्दा बढीले आरोहण, कामिरिता शेर्पाको ३२औं पटकको किर्तिमान

सगरमाथामा एकै दिन २७० भन्दा बढीले आरोहण, कामिरिता शेर्पाको ३२औं पटकको किर्तिमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बुधबार एकै दिन २७० जना भन्दा बढीले सफल आरोहण गरेका छन् ।

नेपाल पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक हो । संघका महासचिव ऋषि राम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण हो ।

यसपटक नेपालका कामिरिता शेर्पाको ३२औं र महिला तर्फ संखुवासभाकी लाक्पा शेर्पाको ११औं पटक सगरमाथा आरोहण लगायतका थुप्रै नयाँ कीर्तिमानहरू कायम भएका छन् । यसवर्षको वसन्त ऋतुमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरूले अनुमति पत्र (पर्मिट) लिएका छन्। जुन आफैंमा एउटा नयाँ कीर्तिमान हो ।

गत १३ मे २०२६ मा पर्वतारोहण सञ्चालक संघ नेपालको बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सफलतापूर्वक मार्ग निर्माण गरेपछि आरोहीहरूका लागि सगरमाथाको ढोका खुलेको थियो । त्यसयता मौसमले साथ दिएसँगै आरोहीहरू निरन्तर चुचुरोमा पुगिरहेको संघले जनाएको छ ।

सम्पूर्ण सरोकारवाला निकाय, आरोही, शेर्पा गाइड र सहयोगी कर्मचारीहरूको अनुशासन र सहकार्यका कारण हाल सगरमाथालगायत विभिन्न हिमाली क्षेत्रमा आरोहण गतिविधिहरू सुरक्षित, व्यवस्थित तथा सफल रूपमा सञ्चालन भइरहेको महासचिव भण्डारीले बताए ।

Logo