काठमाडौं । नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले बिना अतिरिक्त अक्सिजन सगरमाथा आरोहण गर्दै ‘ट्रिपल क्राउन च्यालेन्ज’ सफलतापूर्वक पूरा गरेकी छन्। विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल तीव्र गतिमा आरोहण गर्ने कीर्तिमानी पर्वतारोही हरिलाको यो आरोहणलाई यस सिजनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सगरमाथाको आरोहण बुधबार बिहान ८:४५ बजे सम्पन्न भएको अभियान आयोजक सेभेन समिट ट्रेक्सले जनाएको छ। हरिलासँगै उनका दीर्घकालीन आरोहण सहयोगी मिङतेम्बा शेर्पा र डुक्पा शेर्पा पनि सफलतापूर्वक शिखर पुगेका थिए।
यसअघि हरिला र मिङतेम्बा शेर्पाले २०८३ जेठ ३ गते नुप्से हिमाल तथा २०८३ जेठ ७ गते अक्सिजन प्रयोग गर्दै ल्होत्से हिमाल आरोहण गरेका थिए। तीनवटै हिमाल सफलतापूर्वक आरोहण गरेपछि उनीहरूले यस वर्षको ‘ट्रिपल क्राउन च्यालेन्ज’ पूरा गरेका हुन्।
‘ट्रिपल क्राउन च्यालेन्ज’ हिमाल आरोहण क्षेत्रमा अत्यन्त कठिन र प्रतिष्ठित मानिने चुनौती हो, जसअन्तर्गत आरोहीले नुप्से हिमाल, ल्होत्से हिमाल र सगरमाथा गरी एउटै सिजनमा तीनवटा प्राविधिक तथा आठ हजार मिटर आसपासका हिमाल सफलतापूर्वक आरोहण गर्नुपर्छ।
छोटो समयमै लगातार तीन हिमाल आरोहण गर्न शारीरिक सहनशीलता, उच्च हिमाली अनुभव र मौसम व्यवस्थापनमा विशेष दक्षता आवश्यक पर्ने भएकाले ‘ट्रिपल क्राउन’ लाई पर्वतारोहण क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइन्छ।





























प्रतिक्रिया