पर्यटन उकास्न पहाडी जिल्लामा साइकल यात्रा

पर्यटन उकास्न पहाडी जिल्लामा साइकल यात्रा

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवद्धन गर्ने उदेश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ ।

लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्री सहभागी थिए । इलामको हरियाली चियाबारी, नागबेली झैँ घुमेका सडकमा साइकल यात्रीको आगमनले थप रमाइलो थप्ने काम गरेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए ।

उद्योग बाणीज्य सङ्घको पहलमा साइकल यात्रीलाई स्वागत गर्दै कोरोना कहरमा शून्य रहेको पर्यटनले केही बढ्ने विश्वास व्यक्त भएको थियो । साइकलयात्री बुद्ध तामाङले सो क्षेत्र पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्न आफुहरु आएको बताए ।

ताप्लेजुङको सुकेटारदेखि शुरु भएको चार दिने साइकल यात्रा झापामा सम्पन्न भएको साइकल यात्राका संयोजक योगेन्द्र थापाले बताए । द हिमालयन माउण्टेन बाइक विर्तामोडको सहयोगमा सञ्चालन भएको साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारी लगायतका क्षेत्र छिचोल्दै दुइ सय ३० किलोमिटर यात्रा गरेको बताए ।

इन्धनको बचत तथा शारीरिक कसरत राम्रो हुने भएकाले साइकल यात्रा फलदायी हुने सहभागीको भनाइ थियो ।

Logo