‘धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौं’ : मन्त्री भट्टराई

‘धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौं’ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताए ।

ओलाङचुङगोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।”

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ, तिहार जस्ता चाडबार्ड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे ।

यसअघि आज बिहान मन्त्री भट्टराईले ओलाङचुङगोलास्थित बिओपीको उद्घाटन गरेका थिए । चीनसँगको सीमावर्ती क्षेत्रमा बिओपी स्थापनासँगै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती क्रमशः घट्दै जानेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सहभागि थिए ।रासस

Logo