पर्यटकको पर्खाइमा मनमोहक ‘बराह ताल’

पर्यटकको पर्खाइमा मनमोहक ‘बराह ताल’

केन्द्रबिन्दु
0
Shares

समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो। अङ्ग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पर्खाइमा छ। घना जङ्गलको बीचमा रहेको ताल प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण छ। 

ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन। बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ। 
 
बागलुङको दुर्गम मध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवर्द्धन गर्न थालेको छ। धार्मिक महत्वसँगसमेत जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन। भौगोलिक जटिलता, घना जङ्गल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ। 

सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको निकै फराकिलो बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो। अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवर्द्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचारप्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला–२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए। 

“पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवर्द्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ”, छन्त्यालले भने, “प्राकृतिकरुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ।” 

फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ। तालमा हिउँदका समयमा सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ। आँखा फुटेको बुढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माणसमेत गरिएको छ।  

गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए।

“गाउँपालिकाको गुरुयोजनामा बराह तालका विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्”, अध्यक्ष बुढा मगरले भने, “पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रवर्द्धनात्मक कामसमेत गर्दै आएको छ पर्यटकको पर्खाइमा रहेको बराह तालमा कुनै दिन खचाखच पर्यटक भित्रिनेछन्।” तालको गहिराइ भने हालसम्म मापन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ। 
     
धार्मिक महत्व बोकेको सो ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पुर्याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए। खोलसबाङबाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पुर्याउन सके पर्यटक लैजान सहज हुने छन्त्यालको भनाइ छ। “यो तालको मनमोहक रुप र धार्मिक महत्व हामीले बुझाउन सकेनौँ, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रवर्द्धनको काम भइरहेको छ”, छन्त्यालले भने, “बागलुङकै आकर्षक तालका रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्र्याउनु हाम्रो मुख्य योजना छ।”

Skip This
Skip This
Logo