युएनडीपीका सहायक महासचिव कान्नीद्वारा पर्यटन बोर्डले गरेका कामको प्रशंसा

युएनडीपीका सहायक महासचिव कान्नीद्वारा पर्यटन बोर्डले गरेका कामको प्रशंसा


नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले पर्यटन बोर्डसँग युएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय युएनडीपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दीगो पर्यटन विकासमा जोड दिन आग्रह गरे। उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तार जस्ता कार्यले दीगो पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले युएनडीपी जस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको चर्चा गर्दै सरकार पर्यटन बोर्ड दीगो पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडीपीको लामो सयमदेखि योगदान रहेको उल्लेख गर्दै आउँदा दिनमा पनि युएनडीपीबाट निरन्तर सहयोग रहको अपेक्षा गरेको बताए। उनले पछिल्लो समय युएनडीपीको सहयोगमा सञ्चालित जिविकोपार्जनका लागि पर्यटन पुनरुत्थान कार्यक्रम ( एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्युनिकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगेको जानकारी दिए। यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग सहकार्यमा गरिएको बताए ।

कान्नीछाराले चन्द्रागिरीमा निर्माण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको निरिक्षण
यसैबीच राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव कान्नी वाग्नाराजा, युएनडीपीको नेपालका लागि आवासीय प्रतिनिधि आएसान्यी मेगागन्गोडा लावे, डेपुटी आवासीय प्रतिनिधि बर्नाडो कोकोले एसटीएलआरपी परियोजना अन्तर्गत काठमाडाैंको चन्द्रागिरीमा निर्माण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको निरिक्षणसमेत गरिन् । सो कार्यक्रममा युएनडीपीको टीमलाई स्वागत गर्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेकोमा पर्यटन बोर्डमार्फत एसटीएलआरपी परियोजनाले गरेका थप कामले यस क्षेत्रमा नयाँ पर्यटकीय प्रडक्ट विकास भएको बताए।

सो अवसरमा सहायक महासचिव कानी वाग्नाराजाले दीगो पर्यटन विकासमा नगरपालिकाले गरेको कार्यको समेत प्रशंसा गरेकी थिइन्। सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मी निर्देशक लामिछाने,नेपाल एशोसिएसन अफ टुर एण्ड टार्वल एजेन्टुस (नाटा) का सचिव युविका भण्डारी,चन्द्रागिरी राइडर्स कल्वका अध्यक्ष विष्णुभक्त महर्जन,साइक्लिस्ट सुनिता भण्डारी लगायतले एसटिएलआरपी परियोजना एसटीएलआरपीबाट निर्मित ट्रेलका बारेमा धारणा तथा अनुभव राखेका थिए।

Logo