नेपालको निर्वाचनमा भाग लिन जुनसुकै क्षेत्रमा रहेका नेपाली नागरिकलाई छुट छ ।
पछिल्लो समय राजनीतिप्रति सबैको चासो बढ्दो छ । त्यसैले पनि सबै पेशा, धर्म र वर्गको आकर्षण पछिल्लो समय निर्वाचनमा बढ्दो छ । कलाकार, व्यवसायी, इञ्जिनियर सबै पेशाका मानिसको उम्मेदवारी दर्ताले राजनीति र निर्वाचनमा चासो पनि बढ्दो छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि व्यवसायीहरुले समेत उम्मेद्वारी दर्ता गराएका छन् । सरकार व्यवसायी मैत्री भएन भनी गुनासो गर्ने र अहिलेसम्म पनि संसदमा छिर्न नपाएका केही व्यवसायीहरु अहिले चुनावी भिडन्तमा उत्रिएका हुन् । उनीहरु सबै नीति निर्माण गर्ने ठाउँमा पुग्ने दौडमा नै छन् ।
कुन व्यवसायीले कहाँबाट चुनावी मैदानमा ?
१, विनोद चौधरी : नेपालका एकमात्र अर्बपति विनोद चौधरीले पश्चिम नवलपरासी १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिएका छन् । नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी समेत रहेका चौधरीले नेपाल लगायत विश्वका विभिन्न देशमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
२, उमेश श्रेष्ठः व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ वर्तमान सरकारमा राज्यमन्त्री छन् । शिक्षा व्यवसायी भएर ‘नाम र प्रसिद्धि’ कमाएका श्रेष्ठले पछिल्लो समयमा जलविद्युत, पर्यटन र अस्पताल जस्ता क्षेत्रमा लगानी गरेका छन् ।
३, सुमनविक्रम पाण्डेः पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिवसमेत हुन् ।
४, मोहन आचार्यः मोहन आचार्यले रसुवाबाट उम्मेद्वारी दिएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिभिल इन्जीनियर आचार्य निर्माण व्यवसायी हुन् । उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य थिए ।
५, एलपी सावाँ लिम्बूः वैदेशिक रोजगार व्यवसायी लालप्रसाद (एलपी) साँवा लिम्बू झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार हुन् । यसअघि पनि बारम्बार सांसद बनेका लिम्बूले वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।
६, विक्रम पाण्डेः व्यवसायी विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा छन् । राप्रपाका उम्मेदवार पाण्डे नेता तथा व्यवसायी हुन् । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर छ ।
७, डा. वीरेन्द्र महतोः व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय छ । उनी माछापुछ्रे बैंकका अध्यक्ष पनि हुन् ।
८, डा. सुनिल शर्माः मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार हुन् । डा. शर्मा अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उनको लगानी छ ।
९, राजेन्द्र बजगाईंः पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका उम्मेदवार बजगाईंको १ अर्ब १६ करोड लगानीको वर्णबास होटल छ ।
१०, पूर्णबहादुर तामाङः निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।
११, किसान श्रेष्ठः व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । किसान पूर्वम्यानपावर व्यवसायी हुन् भने जग्गाको कारोबारमा पनि सक्रिय छन् ।
१२, दीपक खड्काः व्यवसायी दीपक खड्काले संखुवासभामा कांग्रेसका उम्मेदवार हुन् । कांग्रेस जिल्ला सभापति समेत रहेका उनको पर्यटनका साथै जलविद्युत्मा पनि लगानी छ ।
१३, मोहन आचार्यः निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट उम्मेदवारी दिएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका आचार्य यसअघि पनि सांसद थिए । उनको रसुवा कन्स्ट्रक्सन छ ।
१४, आकर्षण पोखरेलः व्यवसायी आकर्षण पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल केही वर्षअघि मात्र अमेरिकाबाट फर्किएका हुन् । हाल उनले कमलादीमा एसियाकै पहिलो स्काइवाक टावर निर्माण गरिरहेका छन् ।
१५, देवीप्रकाश भट्टचन : प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट समानुपातिक प्रणालीतर्फका उम्मेदवार हुन् । भट्टचन प्रभु ग्रुप र प्रभु बैंकका अध्यक्ष समेत हुन् ।





























प्रतिक्रिया