को हुन् नवनियुक्त सञ्चारमन्त्री शर्मा ? [भिडियाेसहित]

को हुन् नवनियुक्त सञ्चारमन्त्री शर्मा ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन । आम निर्वाचन २०७९ मा उनले नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई पराजित गरी संसद सदस्य बनेकी हुन् । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी शर्माले वि.सं. २०७० र २०७४ मा प्रतिनिधि सभामा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन । उनले २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छिन ।

वि.सं. २०२६ साल असोज ९ गते घोराहीको मसिनामा बुवा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

२०४२–०४३ देखि अनेरास्ववियुको स्कुल एकाइ कमिटीबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी रेखा शर्मा अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाइसीएलको केन्द्रीय सदस्य हुँदै अघि बढेकी हुन् । उनी २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहिसकेकी छन् । २०५७ सालमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी शर्मा काठमाडौं उपत्यका उपब्युरोको इन्चार्ज समेत बनिसकेकी छन । २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर उनले कठोर सुरक्षा यातना समेत  भोगेकी थिइन् ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ चैत ३१ गते रिहाइ भएपछि उनी पुन: पार्टी काममा सक्रिय रहिन । नवनियुक्त सञ्चार मन्त्री शर्मा २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको सचेतक भैसकेकी छिन ।

मन्त्रीको पद बहालीसँगै सरकारको नीति तथा कार्यक्रम अनुसार अघि बढ्ने उनले बताएकी छिन् । सूचना-प्रविधि र उत्पादनको क्षेत्रमा समन्वयात्मक ढंगले काम गर्ने उनको भनाइ छ ।

Logo