सत्ता गठबन्धनमा भएको पूर्व सहमति कायम भएमा एमालेबाट डोरमणिको नाम सिफारिश हुने निश्चित देखिएको छ । राष्ट्रपति एमालेको भागमा रहने पुस १० को सातदलीय गठबन्धनमा सहमति भएको हो । नेकपा एमालेमा सुवास नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटाको नामपनि चर्चामा छन् ।
केहीसाता अघिसम्म नेम्वाङको माहोल राम्रो रहेको भएपनि पछि उनको सम्भावना कम हुँदै गएको एमाले सम्बद्ध स्रोतको दावी छ । संसद विघटनमा अध्यक्ष ओलीलाई सहयोग नगरेको आरोप छ । नेम्बाङबाट संकटका बेला सहयोग हुन नसक्ने निचोडमा ओली पुगिसकेका छन् । नेम्वाङले कानुनको धारा-उपधारा देखाएर महत्वाकांक्षी ओलीलाई बेलाबेलामा तर्साउने गरेको पार्टीभित्रै चर्चा छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि राष्ट्रपति बन्न लालायित छन् । उनी राजनीतिको अन्तिम अवसरका रुपमा राष्ट्रपति बन्न चाहन्छन् । तर उनी पार्टी अध्यक्ष केपी ओलीको रोजाइमा परिनसकेकोले सम्भावना निकै कम रहेको बताइएको छ । भर्खरै चुनाव हारेको, पार्टीभित्र सर्वसम्मत हुनसक्ने छवि निर्माण नभएको कारण उनको सम्भावनाको ग्राफ कमजोर देखिएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत हुने भएकोले नेपाली सेनासँगको खटपटका कारण पनि उनको सम्भावना घटेको हो । यसअघि नेता पोखरेल रक्षामन्त्री हुँदा सेनासँगको टसलका कारण उनले पद गुमाउनु परेको थियो ।मुख्यकुरा अध्यक्ष ओलीले नेता पोखरेललाई पूर्णरुपमा विश्वास गर्ने वातावरण बनिसकेको छैन ।
नयाँ राष्ट्रपतिमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको ईच्छा रहेपनि उनले पनि पाउने सम्भावना कम रहेको छ । एमाले नेता युवराज ज्ञवालीको नाम पनि चर्चामा छ तर उनको सम्भावना पनि निकै कम रहेको छ । राजनीतिक अवसर कम लिएका ज्ञवाली पार्टीभित्र कुशल संगठकको रुपमा चिनिएपनि राष्ट्रपति बन्न पार्टी अध्यक्षको अति विश्वासिलो पात्र हुनुपर्ने भएकोले त्यो गुण ज्ञवालीमा नभएको एमालेवृत्तमा चर्चा छ ।
राष्ट्रपति बन्न चाहनेहरुको सूचिमा गोमा देवकोटाको नाम पनि रहेको छ । महिला र शहीद परिवारको सदस्य भएपनि उनी अध्यक्ष ओलीको रोजाइमा पर्न सकेकी छैनन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि सबैभन्दा उपयुक्त र परिपक्व पात्र डोरमणि नै देखिएका छन् । नेता पौड्याल वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि रुचिका पात्र हुन् । उनले यसअघि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलाई पछि पारेर निर्वाचित भएका थिए । नेपालको राजनीति थप पेचिलो बन्न सक्ने भएकोले विभिन्न दाउपेच चलाउन सक्ने र अध्यक्ष ओलीको एसम्यान हुने पात्र नै अबको राष्ट्रपति हुने धेरैको बुझाइ छ । डोरमणि यसका लागि उपयुक्त हुने बालकोटको ठहर छ ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नै राष्ट्रपति बनाउन उपयुक्त हुने भनाइ पनि सुनिन थालेको पार्टी स्रोतको दावी छ । अध्यक्ष ओलीलाई राष्ट्रपति बनाएर वाम एकताका काम अघि बढाउन सहज हुने तर्क केही नेताहरुको छ । यसो हुनसके दलकै दोस्रो तेस्रो तहका नेता र अन्य वामपन्थी दलका नेताहरु पनि खुशी हुने सम्भावना रहेको छ । तर कतिपय नेताले अहिले नै अध्यक्ष ओलीलाई एमालेको सक्रिय राजनीतिबाट अलग गर्न नहुने तर्क गरिरहेका छन् ।
त्यसो त अन्य दलहरुबाट पनिराष्ट्रपति बन्न सक्ने सम्भावना टरिसकेको भने छैन ।
राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेको स्पष्ट बहुमत मतभार छैन । राजावादी दल राप्रपा गणतान्त्रिक राष्ट्रपति छान्न सिद्धान्तत:उत्सुक देखिएको छैन ।
रास्वपा,जसपा,जनमतलगायत साना दलहरुको माग र चाहना अझै पूरा भैसकेका छैनन् । माओवादी केन्द्रपनि सभामुख र राष्ट्रपति एमालेकै भागमा परोस् भन्ने चाहना मनैदेखि राख्दैन ।
यिनै विभिन्न कारणराष्ट्रपति पद एमालेकै भागमा पर्ला भनेर भन्न सकिने अवस्था भने बनिसकेको छैन ।
यसैबीच नेपाली काँग्रेसले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार दिने निर्णय गरेको छ । उम्मेदवारको नाम आइसकेको छैन । तर वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने सम्भावना धेरै रहेको नेताहरुको भनाइ छ ।
यस्तै, माओवादी केन्द्रको तर्फबाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने अवस्था आउन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।यसैगरी नेकपा एसका माधव कुमार नेपाल र झलनाथ खनालको सम्भावना पनि रहेको कतिपयको भनाइ छ । नेकपा एमाले र एकीकृत समाजवादीबीच एकताको सर्तमा एस सम्बद्ध नेतालाई अघि सार्न पनि सकिने एमाले स्रोतको दावी छ ।
यी बाहेक स्वतन्त्र क्षेत्रबाट पनि राष्ट्रपतिको खोजी भैरहेको चर्चा पनि राजनीतिक वृत्तमा चल्ने गरेको छ । अन्तिम समयमा स्वतन्त्रबाट सामाजिक जीवनमा ख्याती कमाएकाहरुको नाम सिफारिश हुनसक्ने पनि कतिपयको बुझाइ छ । जे होस् चर्चामा जो-जो आएपनि यसको नतिजा हेर्न भने फागुनमा हुने निर्वाचन नै कुर्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया