सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान अनुमति दिने फैसला गरेको हो ।
अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिदिएको भए फुकुवा गर्न पनि भनेको छ । यस्तै लामिछानेको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन पनि सर्वोच्चले जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।
नाबालिका बलात्कारमा आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइ गर्न आदेश दिएका थिए ।
नाबालिग बलात्कारको कसुरमा धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले २० लाख रुपैयाँ धरौटी राख्नु पर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायमै राखेको छ ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधिवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सर्वोच्चले विदेश जान अनुमति दिएको हो ।
आइतबार इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरारी सापकोटाले बहस गरेका थिए । यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहित ३ जनाले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए । सोमवार थप वकिलहरुको बहस सकिएसँगै सन्दीप बाहिर जान पाउने आदेश आएको हो ।































प्रतिक्रिया